काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद्मार्फत राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खर्च गर्ने वैदेशिक सहयोग देशको कुनाकन्दरामा पु¥याउनुपर्ने बताउनुभएको छ ।
समाज कल्याण परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री आचार्यले आज परिषद्मा पद बहाली गर्दै लक्षित समुदाय एवं वर्गसमक्ष सहयोग पु¥याउनेगरी राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले समाज कल्याण ऐन, २०४९, संस्था दर्ता ऐन, २०३४ लगायतका सम्बन्धित कानुनलाई समयसापेक्ष संशोधन गरी समयानुकूल बनाउने बताउनुभयो । साथै समाजकल्याण परिषद्को काम, कारबाहीलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउनुपर्नेमा मन्त्री आचार्यले जोड दिनुभयो ।
उहाँले परिषद्का पदाधिकारी/कर्मचारीलाई सेवामुखी भई आफ्नो दायित्व र जिम्मेवारी बुझेर कार्य गर्न निर्देशन दिनुभयो । मन्त्री आचार्यले आगामी दिनमा समाज कल्याण परिषद्मा धेरै कार्य गर्नुपर्ने भएकाले त्यसतर्फ आफूले ध्यान दिने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई नेपालका लक्षित वर्गका लागि बढीभन्दा बढी स्रोत जुटाउन पनि आग्रह गर्नुभयो ।