चितवन । उद्योग वाणिज्य संघ चितवनको परिषरमा यही बिहिबारदेखि शुरु भएको घर बनाउने मेलामा सातहजार बढीले अवलोकनकर्ताले अवलोकन गरेका छन । बैशाख २५ देखि जारी मेला भोलि बैशाख २७ गते सकिंँदैछ । मेलामा शुरुका दिनदेखिनै अवलोकनकर्ताको उल्लेखनीय सहभागिता रहेको र सातहजार बढीले अवलोकन गरेको मेलाका संयोजक विपिन कंडलले जानकारी दिए । ‘हिजो पनि भीडनै थियो आज झन अवलोकनकर्ताको चाप बढेको छ , संयोजक कंडेलले भने, भोलि झन दोब्बर भन्दा बढी अवलोकनकर्ता आउने हाम्रो अपेक्षा छ ।’ भोलि शनिबार र समापनको दिन भएकोले अवलोकनकर्ताको ठूलो उपस्थिति रहने उनको भनाई छ ।
मेलामा घर बनाउन लागेका सेवाग्राही, व्यवसायी, विद्यार्थी तथा सरोकारवालाहरुको सहभागिता रहेको उनले बताए । भोलिपनि सरोकारवालबीच विषयगत अन्तरक्रिया , छलफल हुने आयोजकले जनाएको छ । घर बनाउने मेला चितवनमा पहिलोपटक आयोजना गरिएको हो ।
२७ गतेसम्म चल्ने मेला एसवन होम्स र भी ग्रुपले आयोजना गरेका हुन । मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउने सम्पूर्ण जानकारी एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । मेलामा नयाँ नयाँ घर बनाउने डिजाइन र टेक्नोलोजी, घर बनाउन आवश्यक सामग्रीहरुको प्रदर्शनी, बिशेषज्ञहरुबाट निःशुल्क परामर्श, आकर्षक छुट र अफर, घरजग्गा खरिद बिक्री र सरकारी नियम कानुनको बिस्तृत विवरण प्रस्तुत गरिनेछ । उद्योग वाणिज्य संघ चितवनको परिषरमा हुने मेलामा घरजग्गा, निर्माण सामाग्री , लगायतका गरी ३० वटा स्टल रहेका छन ।
तीन दिनसम्म चल्ने मेलामा १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर , उपभोक्ता , सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने कंडेलले बताए ।
काठमाडौं पछि चितवन घरजग्गा कारोबार तथा भवन निर्माणमा आकर्षण भएकोले यसलाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको हो । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ । घर बनाउने मेलाको मुख्य प्रायोजकको रुपमा स्काईवेल एसयुभी गाडी रहेको छ ।