भरतपुर । बागमती प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल नारायणगढ स्थित बालकुमारी कलेजले सामान्य चिकित्सा(एच.ए.) दोस्रो वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । कलेजका प्रिन्सिपल जगदिश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो ।
सो अवसरमा विद्यार्थीहरुलाई खादा र टिका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले एच.ए.को नतिजामा बालकुमारी कलेज बागमती प्रदेशकै दोस्रो हुन सफल भएकोमा कलेजका प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा अझै राम्रो गर्न आग्रह गर्दै त्यसका लागि कलेज व्यवस्थापन आवश्यक सहजिकरण गर्न तयार रहेको जानकारी दिनु भयो ।
कलेजका प्रिन्सिपल जगदिश्वर खनालले बालकुमारी कलेज एच.ए. विभागको उत्कृष्ट र सक्षम नेतृत्व तथा प्राध्यापकहरुको योगदान र विद्यार्थीहरको लगनशिलताको कारण यो सफलता प्राप्त भएको वताउनु भयो ।
बालकुमारी कलेज चितवनकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित भएको वताउँदै आगामी वर्ष नेपाल प्रथम हुने गरि अध्यायन अध्यापन गर्न र गराउन आग्रह गर्नु भयो । बालकुमारी कलेज नेपाली विभागका प्रमुख विश्वराज लम्सालले संचालन गर्नु भएको कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल बाबुराम पन्थी, प्रशासन प्रमुख चन्द्रकान्त पौडेल, एच.ए. विभाग प्रमुख अभय कुमार पण्डित, विद्यार्थी आरुसी पौडेललगायतले बोल्नु भएको थियो ।