ढोरपाटन (बागलुङ) । छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।
रोयल रेड र इटालिएन फुजी उहाँको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोप्नुभएका उहाँले ८० वटा मात्र जोगाउन सफल भएको सुनाउनुभयो । जातका स्याउको बिरुवा लिएर लगाउनुभएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उहाँको बगान चार रोपनीमा फैलिएको छ । उहाँ छ रोपनीमा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । अध्यक्ष रोकाले भन्नुभयो, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ”
स्याउखेतीका निम्ति उहाँले रु एक लाख ५० हजार लगानी गरेको बताउनुभयो । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउनुहुन्छ । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उहाँले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताउनुभयो । रासस