म्याग्दी । रु एक करोडभन्दा बढी चन्दा सहयोग जुटाएर म्याग्दीको धौलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण भएको छ ।
जगन्नाथ अन्नपूर्ण कोष तथा व्यवस्थापन समितिले धार्मिक र ऐतिहासिक महत्वको पर्यटकीय सम्भावनायुक्त ताकमकोतमा रहेको अन्नपूर्ण–जगन्नाथ मन्दिर पुनर्निर्माण गरेको हो । विसं १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा विसं १८८२ मा नेपाल एकीकरण हुनुअघि मल्ल राजाहरूले शाषन गरेका थिए ।
सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत–अन्नपूर्ण– जगन्नाथ मन्दिर विसं १९९० र २०७२ को भूकम्पले जीर्ण बनेपछि समुदायस्तरबाट आर्थिक सहयोग जुटाएर विसं २०७५ देखि पुनर्निर्माण थालिएको थियो ।
मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले पुनर्निर्माणमा रु एक करोड १९ लाख ३१ हजार ८३३ खर्च भएको जानकारी दिनुभयो । रु एक करोड १४ लाख पाँच हजार १३८ चन्दा सङ्कलन भएको र रु पाँच लाख २६ हजार ६९५ अपुग भएको थापाले बताउनुभयो ।
“पुरातत्व विभागको अनुमतिमा मन्दिरको पुरानोस्वरूप र ऐतिहाँसिक तथा धार्मिक पक्षमा असर नपर्ने गरेर मन्दिर पुनर्निर्माण भएको छ”, उहाँले भन्नुभयो, “मन्दिरभित्र जगन्नाथ र अन्नपूर्ण देवताका मूर्ति राखेका छौँ ।”
रु पाँच हजारभन्दा बढी सहयोग गर्नेहरूको नामावलीसहितको शिलालेखको स्तम्भ अनावरण गरेर पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले शुक्रबार मन्दिरको उद्घाटन गर्नुभयो । कार्यक्रममा सहयोगदातालाई कदरपत्रले सम्मान गरिएको थियो । मन्दिरको छेउमा तत्कालीन थापा तथा मल्ल राजाका पालाका हातहतियार भण्डारण गरिएको कोतघरको पनि पुनर्निर्माण भएको छ ।
पुरातत्व विभागको रु ५० लाख बजेटबाट ठेक्कामार्फत रामसिताको मन्दिर निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको रु तीन लाख ५० हजार बजेट र हाल अमेरिकामा रहनुभएका रघुनाथ सुवेदीको अगुवाइमा दाताको रु २४ लाख ४० हजार सहयोगमा १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो ।
गण्डकी प्रदेश सरकार र सहरी विकास मन्त्रालयको बजेटबाट सडकदेखि कोत परिसर पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।
म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माले बताउनुभयो । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।
तत्कालीन राजाले कोतघरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ«े शृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मन्दिर पुनर्निर्माण र थप पूर्वाधार विस्तारसँगै ताकमकोत पर्यटकीयस्थलको रुपमा विकास भएको बताउनुभयो । ताकमकोतको विकास र प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । रासस