चितवन । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको बैठकले आसन्न उवासंघ चितवनको अधिवेशनमा शिरिष पन्तलाई अध्यक्षको उम्मेद्वारमा उठाउन सर्वसम्मत निर्णय गरेको छ । व्यवसायिक समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष, स्पष्ट कार्ययोजना र व्यवसाय मैत्री नेतृत्व क्षमता रहेको भन्दै पन्तलाई अध्यक्षको उम्मेदवारको लागि शिफारिस गरेको हो ।
सो क्रममा बोल्दै निर्माण व्यवसायी संघका अध्यक्ष नरहरी घिमिरेले भने,‘ संघले उनलाई केवल एक उम्मेदवार होइन, परिवर्तनको नेतृत्व गर्न सक्ने, परिणाम देखाउने र व्यवसायीको हितलाई सर्वोपरि राख्ने वास्तविक नेतृत्वको रूपमा प्रस्तुत गरेको छ ।’र्
उद्योगी व्यवसायी अहिले परिवर्तनको मोडमा रहेकोले योग्य नेतृत्व रोज्ने बेला आएको अध्यक्ष घिमिरेले बताए । ‘ संस्थाको भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता, व्यावसायिक सहजता र दीर्घकालीन विकास यिनै निर्णयले निर्धारण गर्ने भएकाले, सबै उद्योगि व्यवसायीलाई जिम्मेवारीपूर्वक मत प्रयोग गर्न समेत संघ अपिल गर्दछ ।’ घिमिरेले भने ।
निर्माण सामग्री व्यवसायीहरूको साझा आकांक्षा, चितवनको व्यापारिक संरचना सुदृढीकरण, युवा ऊर्जाको प्रतिनिधित्व र आधुनिक संस्थागत रूपान्तरणको यात्रामा सिरीष पन्त नै सबैभन्दा योग्य, सक्षम र विश्वसनीय विकल्प भएको निष्कर्ष संघले राखेको छ। पन्तलाई दिइने प्रत्येक मत चितवनका उद्योगी व्यवसायको स्थायित्व, पारदर्शिता र समृद्ध भविष्यमा लगानी हुने र केवल नेतृत्व बदल्ने होइन आगामी पुस्ताले पाउने अवसर, सम्मान र व्यावसायिक वातावरण सुरक्षित गर्ने निर्णय गर्ने क्षण आएको संघको ठहर छ ।
संघका सदस्यको एक मतले चितवन उद्योग बाणिज्य संघलाई पारदर्शी, ब्यवसायीमैत्री, परिणाममुखी र युवा दृष्टिकोणसहित अघि बढाउने र सबैको सामूहिक लक्ष्य पूरा हुने भन्दै मत दिन समेत संघले अपिल गरेको छ ।









