भरतपुर । विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गरी उनीहरूको प्रतिभा पहिचान गर्न तथा प्रस्तुती कला र सञ्चार क्षमताको विकास गर्न आयोजित चौथो संस्करण मास्टर एण्ड मिस अङ्कुरम्–२०८२ शुक्रबार सम्पन्न भएको छ ।
‘मञ्च प्रदक्षिणा चरण, परिचयात्मक चरण, प्रतिभा प्रदर्शनी चरण र प्रश्नोत्तर चरण गरी चार चरणमा गरिएको स्पर्धाबाट उदयराज वाग्ले मास्टर अङ्कुरम्–२०२५ र श्रीद्धि कर्माचार्य मिस अङ्कुरम्–२०२५ घोषित भएका हुन् । मञ्च प्रदक्षिणा चरणबाट सहभागीको बहिर्गमन सुरु भएको थियो । विद्यालयभरिबाट प्रतियोगिताका लागि १५ जना छात्रा र १५ छात्र गरी ३० जनाले स्पर्धा गरेको प्रतियिोगिताको मञ्च प्रदक्षिणा (पहिलो चरण)बाट पाँच जना छात्रा र पाँच जना छात्र गरी १० जना बहिर्गमनमा परेका थिए भने परिचयात्मक चरणबाट चार जना छात्रा र चार जना छात्र बहिर्गमनमा परेका थिए ।
प्रतियोगिताको तेस्रो चरण ‘प्रभिभा प्रदर्शनी’बाट उत्कृष्टता प्रदर्शन गर्ने चार जना छात्राहरू आरुषा गुरुङ, श्रृद्धि कर्माचार्य, समृद्धि भण्डारी र ग्रिष्मा पाण्डे तथा छात्रहरू स्वर्णिम घिमिरे, अनन्त पोख्रेल, रिवाज तिवारी र उदयराज वाग्ले गरी आठ जना अन्तिम चरणका लागि छनोटमा परेका थिए ।









