भरतपुर । भरतपुर को वाल्मीकि शिक्षा सदनले शैक्षिक उत्कृष्टताको आफ्नो गौरवशाली इतिहासलाई कायम राख्दै यस वर्ष पनि एसईई परीक्षामा पनि निरन्तरता दिएको छ। विद्यालयका दुई विद्यार्थीले ४.०० जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक विरासतलाई पुनः एकपटक राष्ट्रिय स्तरमै स्थापित गरेका छन्। यस वर्षको एसईई परीक्षामा अनुभव पौडेल र बिप्लब गौतमले ४ जिपिए हासिल गर्दै विद्यालय, अभिभावक तथा समग्र चितवन जिल्लाकै गौरव बढाएका हुन्।
कक्षा १२ तर्फ विज्ञान संकायका विद्यार्थी अमन पौडेलले ३.९६ जिपिए प्राप्त गर्दै नेपाल प्रथम हुन सफल भएका थिए। अमनको यो उपलब्धिले विद्यालयलाई राष्ट्रिय स्तरमै चर्चामा ल्याएको थियो। त्यसैगरी व्यवस्थापन संकायतर्फ अनुरोध कोइरालाले ३.८६ जिपिए सहित जिल्ला दोस्रो स्थान हासिल गरेका थिए भने दिप्सन गौडेलले ३.८५ जिपिए ल्याउँदै जिल्ला तेस्रो स्थान सुरक्षित गरेका थिए।
यसैगरी आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षामा पनि विद्यालयले उत्कृष्ट नतिजा निकाल्न सफल भएको थियो। अन्वेषा अधिकारी, आयन त्रिपाठी र प्रान्जली पराजुलिले ४ जिपिए प्राप्त गर्दै विद्यालयको गौरव अझ उच्च बनाएका थिए। विद्यालयका विभिन्न तहका विद्यार्थीहरूले लगातार उत्कृष्ट नतिजा ल्याउनु विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रमाण भएको अभिभावक तथा शिक्षा सरोकारवालाहरूको भनाइ रहेको छ।
विद्यालयका प्राचार्य प्रदिप पौडेलले विद्यालयको सफलता केवल नतिजामा सीमित नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा केन्द्रित रहेको बताउनुभयो। उहाँका अनुसार विद्यालयले अनुशासन, नैतिक शिक्षा, आधुनिक शिक्षण पद्धति र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै आएको छ, जसका कारण विद्यार्थीहरू हरेक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम भएका छन्।
प्राचार्य पौडेलले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना खुल्ला भएको जानकारी दिँदै उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। विद्यालयले विज्ञान तर्फ कम्प्युटर साईन्स र बायो साईन्स र व्यवस्थापन तर्फ जनरल म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा बिहानी तथा दिवासत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित अघि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ।
लगातार उत्कृष्ट नतिजा, राष्ट्रिय तथा जिल्ला स्तरका उपलब्धि र विद्यार्थीहरूको सफलताले वाल्मीकि शिक्षा सदन लाई भरतपुरकै मात्र नभई नेपालकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गराउँदै लगेको देखिन्छ।



