चितवन –
युवा पोल्ट्री व्यवसायी तथा समाजसेवी मनोज रानाभाटले नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
भरतपुर महानगरपालिका–२ निवासी रानाभाट विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको विचार, आदर्श र संगठनसँग जोडिँदै आएको बताउँछन्। पार्टीको वडा तथा टोल तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले भरतपुर–२ मा दुई पटक बूथ सभापति तथा वडा सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
संगठन निर्माण र स्थानीय तहका समस्या समाधानमा आफूले लामो समयदेखि सक्रिय भूमिका खेल्दै आएको रानाभाटको भनाइ छ। टोल, वडा र नगर तहमा देखिएका समस्या समाधानका लागि अग्रपंक्तिमा रहेर काम गरेको अनुभवलाई अब क्षेत्रीय तहको नेतृत्वमा उपयोग गर्ने उनको दाबी छ।
युवा पुस्ताको ऊर्जा र नयाँ सोचलाई पार्टीका अग्रजहरूको अनुभवसँग जोडेर नेपाली कांग्रेसलाई थप सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।
“युवाले नेतृत्व पाएपछि उनीहरूले कस्तो कांग्रेस बनाउँछन् भन्ने प्रश्नलाई मैले आफ्नो राजनीतिक जिम्मेवारीको केन्द्रमा राखेको छु,” रानाभाटले भने।
क्षेत्रीय सभापतिका रूपमा संगठनलाई टोलदेखि क्षेत्रीय तहसम्म थप बलियो, जनमुखी र समावेशी बनाउने उनको प्राथमिकता छ। विशेषगरी इच्छाकामना र कालिका गाउँपालिकालाई भरतपुरसँग राजनीतिक, सामाजिक, स्वास्थ्य तथा विकासका सवालमा थप मजबुत रूपमा जोड्ने योजना उनले अघि सारेका छन्।
दुर्गम तथा सीमान्तकृत समुदायका शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, कृषि, सामाजिक सुरक्षा तथा आधारभूत सेवासम्बन्धी समस्यालाई क्षेत्रीय र केन्द्रीय तहसम्म पुर्याएर समाधानका लागि संस्थागत पहल गर्ने रानाभाटले बताएका छन्।
“भरतपुरलाई मात्र केन्द्रमा राखेर होइन, इच्छाकामना र कालिकासहित सम्पूर्ण क्षेत्रलाई एउटै राजनीतिक, सामाजिक र विकासको वृत्तमा जोडेर अघि बढ्नुपर्छ,” उनले भने।
अग्रजहरूको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र नयाँ पुस्ताको अपेक्षालाई एकीकृत गर्दै चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसलाई थप जीवन्त, उत्तरदायी र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता रहेको रानाभाटले बताएका छन्।











