भरतपुर, असोज २२ –
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका पाँच वटा टोल विकास संस्थाले प्रहरी बिट स्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
आदर्शनगर नमुना टोल विकास संस्थाका अध्यक्ष किरण आचार्यको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा भरतपुर–२ स्थित महानगर फलफूल तथा तरकारी बजार क्षेत्र व्यावसायिक तथा आवासीय दुवै दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। बजारमा दैनिक ठूलो संख्यामा सवारीसाधन तथा व्यवसायी र उपभोक्ताको आवतजावत हुने भएकाले सुरक्षा चुनौतीसमेत बढ्दै गएको स्थानीयको भनाइ छ।
बजार परिसर तथा आसपास पार्किङ गरिएका सवारीसाधनको आडमा र भीडभाडको मौका छोपी चोरी, लुटपाट, लागुऔषध सेवन तथा अन्य असामाजिक गतिविधि बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख छ।
यस्ता गतिविधिका कारण बुद्ध टोल, आदर्शनगर नमुना टोल, मितेरी टोल र रामेश्वर टोलमा बसोबास गर्ने करिब १ हजार घरधुरीका ५ हजारभन्दा बढी स्थानीय तथा व्यवसायीमा असुरक्षाको भावना बढेको जनाइएको छ।
स्थानीयको सुरक्षा सुनिश्चित गर्न बजार क्षेत्रलाई केन्द्रित गरी तत्काल प्रहरी बिट स्थापना गर्न माग गरिएको छ। साथै, नियमित प्रहरी गस्ती र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन पनि स्थानीयले प्रशासनसँग आग्रह गरेका छन्।











