चितवन –
चितवनमा यही आउंँदो मंसिर २५ देखि २७ गतेसम्म बिल्ड नेपाल एक्स्पो हुने भएको छ । भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा चितवन एक्स्पो सेन्टरमा बिल्ड नेपाल एक्स्पो २०२६ हुने भएको हो । सुस्ताउँदै गएको घरजग्गा व्यवसायलाई पुनः चलायमान बनाउने, आधुनिक निर्माण सामग्रीको सहज पहुँच विस्तार गर्ने तथा स्वदेशमै लगानी र व्यवसायका अवसर प्रवद्र्धन गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक सुरज न्यौपानेले जानकारी दिए ।
हामीले गरेको पहिलो एक्स्पो सफलतापुर्वक सम्पन्न भयो, प्रबन्ध निर्देशक न्यौपानेले भने, अहिले हामीले अलि फरक बृहद रुपमा गर्न लागेका छौं । न्यौपानेका अनुसार एक्स्पोमा घर तथा घडेरी सम्बन्धी जानकारी तथा किनेबेच, निर्माण सामग्रीको प्रर्दशन ,घर तथा घर निर्माणको लागि चाहिने अत्यधुनिक प्रविधिका प्रर्दशन हुनुका साथै घर तथा निर्माण सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया , छलफल हुनेछ ।
यसअघि चितवनलाई लक्षित गर्दै एक्सपोको आयोजना गरिएतापनि अब हुने एक्स्पोमा चितवन, नवलपरासी, मकवानपुर काठमाडौं , पोखरा लगायतका व्यवसायीहरु पनि समेटिने न्यौपानेले बताए । पछिल्लो समय आर्थिक मन्दी, युवाको विदेश पलायन तथा देशभित्र लगानी र व्यवसायका लागि अनुकूल वातावरणको अभावलगायतका कारण घरजग्गा कारोबारमा सुस्तता आएकोले घरजग्गा व्यवसायलाई पुनः लयमा फर्काउने र निर्माण क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउने लक्ष्यका साथ एक्स्पो आयोजना गर्न लागिएको उनको भनाई छ ।
एक्सपोका संयोजक विपिन कंडेलले एक्सपोको तयारी शुरु भईसकेको जानकारी दिए । उनका अनुसार स्टल बुकिङ्ग , स्थानीय तह तथा सरोकारवालाहरुसंँग छलफल , स्पोन्सरहरुसंगको कुराकानी, र अन्य व्यवस्थापनको सम्बन्धी काम भईरहेको जानकारी दिए । “एक्स्पोको लागि स्टल बुकिङ्ग शुरु भईसकेको छ, जिल्ला बाहिरबाट पनि इन्क्वायरीहरु आइरहेको छ ।” कंडेलले भने ।
एक्स्पोमा घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रियाको व्यवस्था गरिनेछ। साथै निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, सरकारी निकायका प्रतिनिधि, विज्ञ र उपभोक्तालाई एउटै मञ्चमा ल्याएर परामर्श, अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा देशभरका घरजग्गा व्यवसायी, निर्माण कम्पनी तथा निर्माण सामग्रीसम्बन्धी प्रदर्शकका गरी करिब ६० वटा स्टल रहनेछन्। एक्स्पोमा २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । स्टल www.buildnepalexpo.com मार्फत पनि बुकिङ गर्न सकिने छ । एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।












