रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सार्वजनिक जग्गा संरक्षणका विषयमा कसैसंग सम्झौता नगर्ने बताएका छन् । टाँडी बजारमा फिर्ता गरिएको सार्वजनिक जग्गामा बहुउद्देश्यीय भवनको शिलान्यास कार्यक्रममा बोल्दै मेयर वनले सार्वजनिक सम्पत्ती कब्जा गरेर मालिक हुने सपना नदेख्न भूमाफियाहरुलाई चेतावनी दिए ।
सार्वजनिक सम्पत्ती जोगाउने हाम्रो दायित्व हो उनले भने यो विषयमा हामी विक्दैनौ र कसैसंग चुक्दैनौं । सार्वजनिक जग्गा संरक्षणको क्रममा दर्जनौं मुद्दा खेप्नु परेको भन्दै मेयर वनले मुद्दा खेपेरै भएपनि सार्वजनिक जग्गा जोगाउन सफल भएकोमा आत्मसन्तुष्टि भएको बताए । कतिपय मुद्दाहरु हामीले जित्यौं उनले भने अझै पनि अदालतमा मुद्दा छन्,यसले हामीलाई केही असर गर्दैन ।
मेयर वनले सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरुबाटै आफुले लुटपाटको मुद्दा खेपिरहेको बताए । वडा नं ७ का वडाध्यक्ष राजन भट्टले सार्वजनिक सम्पत्ती संरक्षणको विषयलाई राजनीतिसंग नजोड्न आग्रह गरे । सार्वजनिक जग्गा फिर्ता गर्ने क्रममा केही राजनीतिक दलका नेताहरु स्थानीयबासीलाई उचालेर भोटको राजनीति गर्न सुरु गरेको उनको भनाई छ ।
रत्ननगर नगरपालिकाको ३९ लाख २३ हजारको लगानीमा शौचालय सहितको व्यवसायिक भवन निर्माण हुने पूर्वाधार समितिका संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिए । सो भवनलाई पूर्णता दिन चालु आर्थिक बर्षमा पनि ३० लाख रुपैया विनियोजन गरिएको उनले जानकारी दिए । वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी,रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी,टाँडी टोल विकास संस्थाका अध्यक्ष रामेश्वर भट्टराई,कार्यपालिका सदस्य राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए ।