चितवन । भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन पश्चात् नाप नक्सा गर्न निर्देशन दिनु भएको छ । नगर उप प्रमुख अधिकारीले सोमबार बिहान केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन गर्नु भएको हो । ‘केरुङ्गा खोलाको वास्तविक क्षेत्र के कति हो तत्काल नै नाप नक्सा गरेर छुट्टाउन मेरो निर्देशन छ, यसको कार्वान्यन खरायोको गतिमा हुनुपर्छ । ’ उहांँले भन्नुभयो ।
उप प्रमुख अधिकारीले केरुङ्गा खोला महानगरको इतिहास भएको बताउनु भयो । यो खोला महानगरको इतिहास संँग सम्बन्ध जोडिएको खोला रहेको भन्दै यो खोला महानगरको गहना रहेको बताउनु भयो । यसले महानगरको सुन्दरता र पहिचानलाई थप उचाईमा पु¥याउने बिश्वास महानगरपालिकाले लिएको उप प्रमुख अधिकारीले बताउनु भयो ।
बिगतका बर्षहरुमा पनि महानगरपालिकाले केरुङ्गा खोलाको सिमाङ्कन तथा निरीक्षण गर्दै आइरहेको उल्लेख गर्दै उहाँले केरुङ्गा खोलामा भएको अतिक्रमणका सम्बन्धमा महानगर निकै गम्भीर रहेको पनि बताउनुभयो । ‘यसको ब्यबस्थापन र सरक्षण गर्नु हाम्रो लागि चुनौती पनि छ । तर यो हाम्रो लागी इतिहास फर्काउने काम पनि हो ।’ उहांँले भन्नुभयो । तिनवटा मुहानको श्रोतलाई ब्यबस्थित गर्नुको साथै कल्भर्ट निर्माण गर्न पनि उप प्रमुखले निर्देशन दिनु भयो ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ को गणेस्थानस्थित नारायणी लिफ्टको सी ‘टु’ र सी ‘थ्री’ क्यानलमा केरुङ्गा खोलाको मुहान रहेको छ । भरतपुर ११ को गणस्थानदेखि भरतपुर २४ को जगतपुरसम्म ३२ किलोमिटरको लम्बाइमा केरुङ्गा खोला फैलिएको छ ।
उदगम स्थलमा तिनवटा मुहान भएको केरुङ्गा खोला दुई वटा बन्दै जगतपुर पुग्दा एउटामा मात्र सिमित भएको छ ।
भरतपुर महानगरपालिकाका वडाहरु क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३ र २४ भएर केरूङ्गा खोला बग्ने गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ९ र ११ ले आफ्नो वडा सिमाना सम्म केरूङ्गा ड्रेनको सीमांकनसमेत गरिसकेका छन् ।
खोलाको दायाँवायाँ क्षेत्र नक्सामा कति मिटर छ भन्ने बारेमा भने नाप नक्सा गरेपछि मात्रै यकिन हुने भुमी ब्यबस्थापन शाखाका इन्जिनियर शिबहरी अधिकारीले जानकारी दिनु भयो । खोलाको अधिकांश क्षेत्र स्थानीयहरुले अतिक्रमण गरेको र पटक पटक अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको इन्जिनियर अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिकाको दीर्घकालीन योजना अनुसार आगामी दिनमा जगतपुर सम्म नै यसको ब्यबस्थापन गरिने भएको छ । वर्षातको समयमा भरतपुर ११ र १२ का धेरै क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन् ।
महानगरको गौरबको आयोजनामा रहेको केरूङ्गा खोला व्यवस्थित भएपछि डुंगा सयर, दुवैतर्फ पार्क निर्माण, दुवैतर्फ साइकल लेन, पैदल बाटो, मिनी सप, विभिन्न स्थानमा आकर्षक पुल सहितको हरियाली रहने छ । जसको डिपिआर समेत भइसकेको छ । यस खोलालाई व्यवस्थित गरेपछि आन्तरिक तथा बाहिय पर्यटकहरुको चहलपहल बढने महानगरपालिकाले बिश्वास लिइएको छ । उक्त खोलामा अहिले पनि प्रदेश सरकारको सहयोगमा रिटेनीङ्ग वाल तथा सियर वाल निर्माण कार्य भइरहेको छ ।
अनुगमनमा सम्बन्धित वडाका अध्यक्षहरु,महाशाखाका प्रमुख तथा इन्जिनियरहरु, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियोे ।