दाङ । एक महिनाको अवधिमा कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरूको मृत्यु भएको हो ।
एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए ।
सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुवैको मृत्यु भएपछि राउटे परम्पराअनुसार दाहासंस्कार गरिएको थियो । आफ्नो परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सरेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गरे ।
मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो । तर अन्यले भने जचाउन मानेन् ।
“बस्तीमा पुग्दा धेरै बालबालिका कुपोषित भएको पाइयो । राउटे समुदायमा घाउचोट लागेका बिरामी धेरै रहेछन्,” उनले भने, “बालबालिकालाई जुकाको औषधि खुवायौँ । मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी थिए ।”
जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औषधि उपलब्ध गराइएको र थप औषधि पछि पठाइने छ ।