चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ ले वडा भित्र बाँझो जमिन राख्न नपाउने निर्णय गरेको छ । वडामा रहेका बांँझो रहेका जग्गालाई कृषि सहित अन्य कामलाई उपयोग गरी सुन्दर तथा उत्पादनशील बनाउन वडाले यो निर्णय गरेको हो । यो वडा भरतपुरको मुख्य शहरी क्षेत्र नजिक क्षेत्रपुरमा पर्दछ ।
वडा अध्यक्ष मनोज रानाभाटका अनुसार वडा भित्रका कुनैपनि जमिन बाँझो रहन नदिनका लागि टोलहरु मार्फत तथ्याङ्क लिन थालिएको छ । वडा भित्र १८ वटा टोल रहेका छन् । वडा अध्यक्ष रानाभाटले भन्नुभयो “अबको चारदिन भित्रमा सबैं तथ्याङ्क संकलन भईसक्छ ।”वास्तविक तथ्याङ्क संकलन भएपछि थाहा हुने भए पनि २५ प्रतिशत जमिन बाँझो रहेको अनुमान गरिएको रानाभाटले वताउनुभयो । उहाँले भन्नुभयो “बाँझो जमिनमा कि त आँफै काम गर्नुप¥यो । कि काम गर्नेहरुलाई दिनुप¥यो । अन्यथा जरिवाना नै लगाईने छ ।”
वडावासीहरुले बाँझो जमिन छोडेकाहरुको सो जमिनमा उब्जनी हुने बराबरको जरिवाना लगाउनु पर्ने सुझाब दिएको भए पनि के कति जरिवाना लगाउने भन्ने बिषयमा दर रेट टुङ्गो लागिसकेको छैन । वडालाई महानगरकै उत्कृष्ट वडाको रुपमा बिकास गर्न लागिएको भन्दै उहाँले जमिनलाई बाँझो र झाडीको रुपमा परिणत गर्न नदिने बताउनुभयो । बाँझो जमिनमा खेती गर्दै गर्दा आम्दानी थोरै भएपनि यसले आत्मनिर्भरतामा मदत पुग्ने उहाँको भनाई छ ।
यो वडामा करिब २५ हजार जनसंख्या रहेका छन् । महानगर भित्र तीब्र बिकास भएको वडा मध्येमा यो पनि पर्दछ । वडाले जिपिएस प्रबिधिबाट घरको नम्बरिङ् गर्ने काम पनि अघि वढाउँदै छ । रानाभाटका अनुसार सबै घरको बिस्तृत तथ्याङ्क वडा कार्यालयसंग रहने गरी काम गर्न लागिएको हो । वडालाई हरियाली वडाको रुपमा विकास गर्न लागिएको छ ।
वडाका विभिन्न ठाउंँमा सिसिटीभी जडान, खेलकुद मैदान लगायतका काम हुंँदै आएका छन । यो भरतपुरको मुख्य बजार नारायणगढ नजिक रहेको पुरानो व्यवस्थित वस्ती भएको वडा हो ।