काठमाडौं । ऊर्जा मन्त्रालयले २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गलाई आगामी महिनादेखि निःशुल्क विद्युत दिने घोषणा गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् सेवा शुल्क नभई २० युनिटसम्म विद्युतको शुल्क निःशुल्क हुने बताइन् । यो व्यवस्थाका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको पनि उनले जनाइन् ।
उनले विद्युतीय चुल्होको प्रयोग बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लैजाने पनि बताइन् । विद्युत् खपत बढाउन, आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजनको निर्णय भइसकेको उनले जानकारी दिइन् ।
समयमा गुणस्तरीय काम गर्दा पुरस्कार र काम नगर्दा दण्डको व्यवस्था गर्ने, प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत् अघि बढाउने, प्रदेश २ मा सोलार आयोजना निर्माण गर्ने उनले बताइन् ।
हेभी ड्युटीका गाडीबाहेक अन्य प्रयोजनका लागि ऊर्जा तथा सिँचाइ मन्त्रालय र मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने पनि उनले बताइन् । स्यालो ट्युबेल सीमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकाले विद्युत् बढी माग हुने समयमा महसुलमा ८० प्रतिशत र अन्य समयमा पूर्ण रूपमा छुट दिइने उनले बताइन् । यसबाट ३ लाख ८८ हजार घरधुरीका कृषकहरूको जीवनस्तर उठाउन महत्वपुर्ण योगदान मन्त्रालयले जनाएको छ ।