पोखरा । उनको उमेर १६ वर्ष भयो । आमाको निधन भइसकेको छ । १६ वर्षीय ती किशोरीको संरक्षणको जिम्मा बाबुमा सरेको छ । तर, बाबुबाट अभिभावकत्व पाउनु त कता हाे कता बरु दर्दनाक पीडा पाइरहेकी छन् । बाबुमात्रै होइन, ती किशोरीलाई अंकलले पनि थप पीडा दिएका छन् ।घटना पर्वतको हो । प्रहरीले पीडक र घटना भएको स्थान गोप्य राखेको छ ।
मातृत्व गुमाएकी ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनकै बाबु र अंकललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए ।
घटना दोहोरिएपछि डराएकी बालिका विभिन्न माध्यमबाट दुई महिनापछि प्रहरी सम्पर्कमा पुगेकाे बताइएकाे छ । उनका दाजुले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पीडितले प्रहरीलाई दिएको बयान अनुसार गत जेठ ७ गते बाबुले जबरजस्ती करणी गरेका थिए भने अंकलले सोही महिनाको २३ गते जबरजस्ती करणी गरेका थिए ।
“घटना निकै दर्दनाक छ । गत जेठ र साउनमा गरेर पालैपालो बलात्कार गरेका रहेछन् । घरायसी अवस्था निकै नाजुक छ,” अधिकारीले भने ।
पीडकलाई जबरजस्ती करणी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।