काडमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से सकारात्मक भएको छ । मंगलबार (हिजो) ३१६१.६५ अंकको नयाँ उचाइ कायम गरेको नेप्सेमा आज ०.९४ अंकको सामान्य वृद्धि हुँदा ३१६२.५९ अंकको नयाँ उचाइ कायम गरेको छ ।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएसँगै हाइड्रोपावरमा आज थप आकर्षण देखिएको छ । आज नेप्सेमा बैंकिङ, विकास बैंक, वित्त कम्पनी, उत्पादनमूलक, लगानीलगायत अधिकांश उपसूचकमा गिरावट भए पनि हाइड्रोपावर उपसूचकले लिड गर्दा नेप्सेमा सामान्य वृद्धि भएको हो ।
आज हाइड्रोपावर उपसूचक ३.९२ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक २.७८ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.३ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त र जीवन बिमा उपसूचक पनि सामान्य बढेको छ ।
यता, व्यापार उपसूचक १.२५ प्रतिशत, विकास बैंक उपसूचक ०.७६ प्रतिशत, बैंकिङ उपसूचक ०.६७ र वित्त कम्पनी उपसूचक ०.६६ प्रतिशतले घटेको छ । यस्तै, उत्पादनमूलक, अन्य, लगानी र म्युचुअल फन्ड उपसूचक पनि घटेका छन् ।
मंगलबारको तुलनामा कारोबार रकम केही घटे पनि आज कारोबार रकममा हाइड्रोपावर कम्पनी नै अगाडि रहेका छन् । २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर खरिद–बिक्री हुँदा १५ अर्ब ४५ करोड ४२ हजारको कारोबार भएको छ । मंगलबार करिब १८ अर्ब पुगेको कारोबार रकम आज केही घटेको हो ।
नेप्सेमा आज अपर तामाकोसीको सर्वाधिक ६८ करोड ३० लाख ७२ हजारको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ३७ लाख ७१ हजार, अरुण काबेली पावरको ५६ करोड १२२ लाख ९३ हजार, अपी पावरको ५३ करोड १७ लाख ४५ हजार र आईसीएफसी फाइनान्सको ५१ करोड ५१ लाख १३ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा ६ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत् कम्पनी, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट कम्पनी रहेका छन् ।
सेयर मूल्य घट्नेमा भने जानकी फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको सेयर मूल्य ४.१७ प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य ३.३९ प्रतिशत, गोर्खाज फाइनान्सको सेयर मूल्य ३.१६ प्रतिशत र वेस्ट फाइनान्सको सेयर मूल्य पनि ३.१६ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा १८६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १०५ कम्पनकिो सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको बढेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।