काठमाडौं । बोटलर्स नेपालका दुई ओटै कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुको नाफामा वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजुले गत आवको चौथो त्रैमाससम्ममा रू. ४४ करोड ९७ लाख ३० हजार खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी रू. ६ करोड १८ लाख ५७ हजार नोक्सानीमा थियो ।
गत आवमा कम्पनीको विक्री आम्दानीमा वृद्धि भएसँगै कम्पनी नाफामा गएको हो । कम्पनीको विक्री आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २२ दशमलव ६६ प्रतिशत र सञ्चालन आम्दानी ३२३ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ । सोही कारण पनि कम्पनी नाफामा गएको देखिन्छ । कम्पनी नाफा गएसँगै प्रतिशेयर आम्दानी धनात्मक भएको छ ।
अघिल्लो आवमा प्रतिशेयर आम्दानी रू. ३२ ऋणात्मक रहेकोमा गत आवमा सुधारिएर रू. २११ धनात्मक रहेको छ ।
त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ९ गुणा र प्रतिशेयर नेटवर्थ रू. २२११ रहेको छ । चुक्तापूँजी रू. १९ करोड ४८ लाख ८९ हजार रहेको छ भने जगेडामा रू. ३ अर्ब ९३ करोड ९१ लाख ६१ हजार सञ्चित गरेको छ ।
त्यसैगरी बोटलर्स नेपाल तराईको खुद नाफा चौथो त्रैमासमा उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ५६ लाख २९ हजार नाफा आर्जन गरेकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. ४२ करोड ६३ लाख ४८ हजार पुगेको हो ।
गत आवमा कम्पनीको विक्री आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विक्री आम्दानी ३३ प्रतिशत र सञ्चालन आम्दानी १७९ प्रतिशतले वृद्धि भएको छ ।
गत आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ रहेकोमा गत आवमा वृद्धि भएर रू. ३५२ पुगेको छ ।