पोर्ट–अउ–प्रिन्स । हाइटीमा शनिबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु घना बस्ती भएको राजधानी मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको छ ।
प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउन सक्ने भन्दै हजारौँ मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षितस्थलतर्फ जान आग्रह गरिएको छ ।
यूएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट)सम्म छालहरू आउन सक्ने चेतावनी दिएको छ ।
प्रारम्भिक विवरणमा भूकम्पका कारण कैयौँ भौतिक संरचनाहरू भत्किएको बताइएको छ । भूकम्पका कारण सयौँ निजी तथा सामुदायिक भवनहरू भत्किएका अपुष्ट सूचनाहरू प्राप्त भएका हाइटीका अधिकारीले बताएका छन् ।
प्रत्यक्षदर्शीले घटनास्थलबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा भूकम्पले हाइटीको दक्षिण–पश्चिमी प्रायद्वीपका स्कुलहरूका आवासीय भवनहरूमा क्षति पुर्याएको देखिएको छ ।
यसपहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० म्याग्निच्युडको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश सहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो ।
तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाइटीवासी घरबारविहीन भएका थिए । रासस/एएफपी