काठमाडौं । ओरियण्टल होटलले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार होटल रू. २६ करोड ४ लाख नोक्सानीमा रहेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ६ करोड ६९ लाख १५ हजार खुद नाफा आर्जन गरेको छ ।
कोरोनाका कारण होटलका व्यवसायिक गतिविधि प्रायः बन्द नै रहेकाले सोको प्रत्यक्ष प्रभाव होटलको आम्दानीमा परेको छ । सरकाले कारोना रोकथामका लागि गरेको लकडाउनले गर्दा पर्यटन आवगमन क्षेत्र शून्य रहेको छ । जसका कारण होटलको आम्दानीमा तथा नाफा घटेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।
होटलको आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ८६ दशमलव ६३ प्रतिशतले कमी आएको छ । कम्पनीले अघिल्लो आवमा रू. ६९ करोड १० लाख ९५ हजार आम्दानी गरेकोमा गत आवमा घटेर रू. ९ करोड २४ लाख १७ हजारमा सीमित भएको हो ।
चुक्तापूँजी रू. १ अर्ब १२ करोड ९० हजार रहेको कम्पनीले जगेडामा रू. ८३ करोड ९२ लाख ५३ हजार सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ९ ऋणात्मक रहेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ थियो ।
त्यसैगरी, प्रतिशेयर नेटवर्थ पनि अघिल्लो आव रू. १९७ दशमलव ४९ रहेकोमा गत आवमा घटेर रू. १७४ दशमलव ४० मा सीमित भएको हो । हाल आएर कोरोना भाइरस को विरुद्धको खोपको आविष्कार भई संसार भरी प्रयोग शुरु भएको र नेपाल सरकाले पनि आगामी चैत २०७८ सम्ममा अधिकांश नागरिकहरुलाई खोप लगाइसक्ने लक्ष्य रहेकोले आगामी दिनमा कोभिड-१९ को प्रकोप विस्तारै कम हुँदै जाने र पर्यटन व्यवसाय पुरानो लयमा विस्तारै फर्कने आशा भएको रहेको वित्तीय विवरणमार्फत होटलले जानकारी गराएको छ ।