काठमाडौं । तेह्रथुम हाइड्रोपावर कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा ९ दशमलव ९९ गुणा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बुधवार साँझ ५ बजेसम्म ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले आजदेखि ८ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । जसमध्ये १६ हजार कित्ता कर्मचारीहरुका लागि, ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा आवेदकले भदौ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो । आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको आईपीओमा इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ कम्पनीको दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. ४० करोड पुग्नेछ ।