काठमाडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन अत्यधिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको महाशाखाका मौसमविद्ले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारसम्म निरन्तर वर्षा हुनेछ ।
आइतवार देशैभर बदली भई वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित भारी सम्भावना रहेको जानकारी दिइएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।
अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भइरहेका छन् ।
देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।