काठमाडाैं, सत्ता कब्जापछि संगीतमा प्रतिबन्ध लगाउने तालिवानको घोषणासँगै अफगानिस्तान नेसनल इन्स्टिच्युट अफ म्युजिक (एएआइएम) का गुरु र शिष्य यतिबेला गहिरो चिन्तामा छन् । अहिले देशका अधिकांश संगीत विद्यालय ठप्प छन् भने संगीतप्रेमी विद्यार्थी मौन छन् । ‘संगीतका प्रायः सबै विद्यार्थी त्रसित छन् । विद्यालय फर्किदा आफूमाथि कुनै पनि बेला हमला हुन सक्ने उनीहरुको चिन्ता छ,’ सो संस्थाका सस्थापक तथा निर्देशक डा. अहमद सरमास्ट भन्छन् ।
दुई साताअघि तालिवान काबुल झर्नेवित्तिकै विद्यार्थीले आफ्ना संगीत सृजनाका सामग्री विद्यालयलाई फिर्ता गरिदिए । केहीले अब विद्यालय कहिल्यै आउन नसक्ने भन्दै खिन्न अनुहार बनाएर घर फर्किए । आफूहरुमाथि तालिवानले भौतिक आक्रमणको चेतावनी दिएपछि अधिकांशले आफ्नो संगीत यात्रालाई नै पूर्णविराम लगाइदिएका छन् ।
डा.सरमाास्टको नेतृत्वमा राजधानी काबुलको संगीत विद्यालयले संगीतको क्षेत्रमाा उल्लेख्य प्रगति गरेको थियो । सन् १९६६ देखि २००१ मा तालिवानको कठोर प्रतिबन्धपछि पहिलो पटक संगीतलाई कक्षा कोठामा फर्र्काउने श्रेय उनलाई नै जान्छ ।
एउटै कोठामा महिला र पुरुषलाई संगीत सिकाउने एएआईएम अफगानिस्तानकै अग्रणी संस्था हो । त्यहाँ अफगान र पश्चिमा संगीत पढाइन्थ्यो । टुहुरा बालबालिकालाई पनिनिःशुल्क शिक्षा दिइन्थ्यो ।
सो इन्स्टिच्युट अफगानिस्तानको पहिलो महिला रक ब्यान्ड जोराको घर नै मानिन्छ । सो व्याण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा धेरै स्रोताहरुमाझ आफ्नो प्रस्तुति दिएको छ । सबैलाई समानता र शिक्षा प्रदान गर्दै आएको एएआईएम अफगानिस्तानको नयाँ पहिचानको बिम्ब बनेको थियो ।
तर, अहिले इतिहास दोहोरिएको छ । अफगानिस्तान पुनः तालिवानको नियन्त्रणमा छ । विद्यालय र यहाँका संगीतकारको भविष्य अनिश्चित छ । ‘अहिले हाम्रा सपना, आशा र भविष्य छियाछिया भएको छ,’ डा. सरमास्ट भन्छन् । हाल अस्ट्रेलियाको मेलर्बनमा रहेका डा. सरमास्ट भन्छन् । दुई साताअघि तालिवानले काबुलमा हमला गर्दा उनलाई लागेको थियो, अब एएआइएममाथि पनि हमला हुन्छ । तालिवानले सो सस्थामा आक्रमण त गरेनन तर सधैका लागि बन्द गर्न चेतावनी दिए । तालिवानको चेतावनीपछि अहिले सो संस्थाका विद्यार्थी निकै चिन्तित छन । ‘अहिले विद्यार्थी भविष्यप्रति मात्र होइन आफ्नो जीवनप्रति नै चिन्तित छन्,’ डा. सरमास्ट भन्छन्, ‘उनीहरु अफगानिस्तानमा असुरक्षित छन् ।’
तालिवानले अहिले डा. सारमस्टको खोजी गरिरहेका छन् । विद्यालय बन्दको दबाब दिन काबुलस्थित उनको डेरामा पटकपटक तालिवान पुगेका छन् ।
तालिवानले सत्ता कब्जा गरेसँगै देशका विभिन्न स्थानमा बालिका शिक्षा र संगीतमा प्रतिबन्ध लगाउन सुरु भइसकेको छ । एक साताअघिमा तालिवान प्रवकत्ताले तालिवानको सत्तामा संगीतमा प्रतिबन्ध लगाइने संकेत गरिसकेका थिए ।