चितवन । चितवनमा घर बनाउने मेला सुरु भएको छ । उद्योग बाणिज्य संघ चितवनको परिसरमा आज (बिहीबार) देखि सुरु मेलाको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री सिलवालले एउटै छानामुनी घर बनाउने सबै जानकारी र सामाग्री उपलब्ध हुने मेला सबैको लागि महत्वपूर्ण रहेको बताउनुभयो । मेलामा विदेशी सामाग्री भन्दा स्थानीय उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।‘ हामीले यस्ता उत्पादनमा स्थानीय श्रोत र उत्पादनको प्रर्वद्धन गर्नुपर्छ, उहांँले भन्नुभयो, यसका लागि सरकारले जग्गाको वर्गीकरण गरेर व्यस्थित पनि गर्नुपर्छ । चितवन देशकै केन्द्र र घरतथा बसोबासको लागि उत्कृष्ट जिल्ला भएकोले पनि यो मेला उपलब्धिमुलक हुने उहांको भनाई थियो ।
मन्त्री सिलवालले घर निर्माण गर्दा भुकम्प प्रतिरोधी र खर्च मितव्ययी हुने खालको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो दक्षता अनुसार नेपाली पन झल्कने घर निर्माणका लागि प्राविधिकले सुझाब दिनुपर्ने भन्दै उहाँले प्रदेश सरकारले पनि वन जंगलको संरक्षण गरेर उपयोग गर्ने नीति अबलम्बन गरिरहेको बताउनुभयो । नेपालको जल, जंगल र जडिबुटी प्रगयो गरेर संमृद्धी हाँसिल गर्ने हो,उहाँले भन्नुभयो,अव जंगलमा ढलेको रुख देख्न पाउनुहुने छैन,प्रदेश सरकारले सोही अनुरुपको योजना बनाउँदैछ ।
उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले मेलाले घर निर्माण गर्न चाहने सेवाग्राही र व्यवसायीलाई जोड्ने काम गर्ने बताउनुभयो । उहाँले व्यवसायीको व्यवसाय प्रबद्र्धन र बजारलाई आर्थिक रुपमा चलायमान बनाउन मेला महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । यस्ता मेलाहरु हरेक वस्तुगत संघहरु बेलाबखत गर्नुपर्नेमा समेत उहांँले जोड दिनुभयो । कार्यक्रममा ग्र्रैह नेपाली संघका सोम सापकोटा, उवासंघ चितवनका पूर्वअध्यक्षहरु, सेन्ट्रल कलेजका प्राचार्य वाइवी पौडेलले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उद्योगी व्यवसायी, पेशागत संस्थाका प्रतिनिधिहरु लगायत विद्यार्थीहरु सहभागिता थियो । घर बनाउने मेला चितवनमा पहिलोपटक आयोजना गरिएको हो ।
२७ गतेसम्म चल्ने मेला एसवन होम्स र भी ग्रुपले आयोजना गरेका हुन । मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउने सम्पूर्ण जानकारी एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । मेलामा नयाँ नयाँ घर बनाउने डिजाइन र टेक्नोलोजी, घर बनाउन आवश्यक सामग्रीहरुको प्रदर्शनी, बिशेषज्ञहरुबाट निःशुल्क परामर्श, आकर्षक छुट र अफर, घरजग्गा खरिद बिक्री र सरकारी नियम कानुनको बिस्तृत विवरण प्रस्तुत गरिनेछ । घर बनाउने मेलाको मुख्य प्रायोजकको रुपमा स्काईवेल एसयुभी गाडी रहेको छ ।