चितवन । जनता समाजवादी पार्टी (जसपा) चितवनको अधिवेशन भोलि सोमबार हुंँदैछ । भरतपुर १० स्थित सप्तगण्डकी कलेजमा समाजवादी पार्टीको प्रथम जिल्ला अधिवेशन हुने भएको हो । पार्टीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला संयोजक अनुज जोशीले अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताए ।
पार्टीको जिल्ला अनुसार ५१ सदस्यीय कार्यसमिती चयन गर्ने गरी अधिवेशन हुन लागेको हो । बिहान ११ बजे कार्यक्रमको उद्घाटन हुने छ । उद्घाटनपछि बन्दसत्र सुरु हुने पार्टीका केन्द्रिय कार्यकारी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज तारा विश्वकर्माले बताए ।
त्यसपछि अधिवेशन हुनेछ । सकेसम्म सर्वसम्मत गर्ने तयारी भएको उनको भनाई छ । सर्वसम्मत हुन नसकेमा चुनावी प्रकृयामा जाने उनको भनाई छ ।
अधिवेशनका लागि जनता समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष बिद्युत बज्राचार्य, महासचिव रामकुमार शर्मा, जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जीवन लामा, ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष ज्ञानु लामा, छिमेकी जिल्लाका अध्यक्षहरु, निर्वाचन आयुक्तहरु, आउने तयारी भएको पार्टीका चितवन जिल्ला संयोजक जोशीले जानकारी दिए ।
जनतासंँग जसपा भन्ने मुल नाराका साथ देशभर अधिवेशनमा होमिएको जसपाको जिल्लामा ७३५ क्रियाशील सदस्य रहेका छन ।
पार्टीले चितवनका स्थानीयपालिका र वडामा संगठन निर्माण र बिस्तार गरिसकेको जोशीले बताए ।