गोरखा । शेर्पा समुदायपछि धेरै आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने गोरखाको धार्चे गाउँपालिकाका आरोहीहरुलाई अभिनन्दन गरिएको छ ।
अठारसयखोला तमु समाजले काठमाडौँमा आज एक कार्यक्रम आयोजना गरी आरोहीहरुलाई अभिनन्दन गरेको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र अठारसयखोला तमु समाजका अध्यक्ष धनबहादुर गुरुङले १८ जना आरोहीहरुलाई अभिनन्दन गर्नुभयो ।
अभिनन्दित हुने आरोहीहरुमा पुरबहादुर गुरुङ, इमान गुरुङ, सुमन गुरुङ, ओमबहादुर गुरुङ, सन्दीप गुरुङ, रामबहादुर गुरुङ, सुजल गुरुङ हुनुहुन्छ । त्यसैगरी नानुमाया गुरुङ, बुध गुरुङ, केशव गुरुङ, पूर्ण गुरुङ, मुलाल गुरुङ, बीसबहादुर गुरुङ, डम्बर गुरुङ, मनुमान गुरुङ, तुल्सिङ गुरुङ र आशबहादुर गुरुङलाई अभिनन्दन गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
“उहाँहरुले गाउँको इज्जत, प्रतिष्ठा बढाउने काम गर्नुभएको छ । त्यसैले, हामीले अभिनन्दन गरेका हौँ”, उहाँले भन्नुभयो, “खुम्बुका शेर्पा समुदायको त मुख्य पेसा नै आरोहण हो त्यसैले सगरमाथा आरोहण गर्नेको सङ्ख्या धेरै छ । तर पश्चिमतिर बसोबास गर्ने गुरुङ समुदायबाट यति धेरै सगरमाथा र अरु आठ हजार मिटर अग्लो हिमाल चढ्ने धेरै आरोही हाम्रै पालिकामा छन् । उनीहरुलाई अझै यस क्षेत्रमा लाग्न हौसला दिन हामीले सम्मान गरेका हौँ ।” रासस