भरतपुर । भरतपुर महानगरपालिका वडा नं. ५ र चेली नेपालको संयुक्त आयोजनामा गरिएको कपाल काट्ने तालिमको समापन गरिएको छ।
दुई महिनासम्म सञ्चालन भएको उक्त तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो। समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नंं ५ का अध्यक्ष युद्ध प्रसाद श्रेष्ठले महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो।
उहाँले चेली नेपालको सहयोगमा सम्पन्न यस तालिमले वडा नम्वर ५ का महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नै घर वरपर रहेर आफ्ना दाजुभाइ, दिदीबहिनीलाई सुन्दर बनाउने सीपले विदेश पलायन हुने क्रम रोक्न मद्दत पुग्नेछ” । दुई महिनासम्मको तालिम लिएका सहभागीहरूको सीप देखेर आगामी दिनमा पनि वडाले यस्ता तालिमलाई निरन्तरता दिने उहाँको भनाइ थियो।
कार्यक्रममा चेली नेपालकी कार्यक्रम संयोजक केमिका घिमिरेले समृद्ध नेपाल बनाउने अभियानमा यो तालिम सहयोगी हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “समृद्ध वडा, समृद्ध स्थानीय तह, समृद्ध जिल्ला र समृद्ध देश बनाउने भनेर हिँड्दा सुरुवात वडाबाट गर्नुपर्छ भन्ने सोचका साथ कपाल काट्ने तालिमको आयोजना गरेका हौँ।”
उहाँले थप्नुभयो, “महिलाहरूको हातमा सीप भएमा स्वरोजगार बन्न सकिन्छ भन्ने विश्वासका साथ यो तालिम सञ्चालन गरिएको हो। अहिले वडा नं. ५ मा मात्रै भए पनि आगामी दिनमा यसलाई विस्तार गरेर महानगरका २९ वटै वडामा पु¥याउने लक्ष्य लिएका छौँ।”
चेली नेपालले वडा नं. ५ मा गरेको सर्वेक्षणमा २२ जना छिमेकी देश भारतबाट आएर सैलुन सञ्चालन गरिरहेका पुरुषहरू भेटिएका थिए। बिना दर्ता सञ्चालन भइरहेका ती सैलुनहरूबाट वर्षमा ६० देखि ८० लाख रुपैयाँसम्म भारत जाने गरेको तथ्य सो सर्वेक्षणले देखाएको छ।
दुई महिनाको कपाल काट्ने तालिम लिएपछि व्यवसाय प्रवद्र्धनमा लाग्ने सोच हुनुहुन्छ वडा नं. ५ की आस्मा पाण्डे । उहाँ भन्नुहुन्छ, “सुरुका दिनमा सकिँदैन कि भन्ने डर थियो। कैँची चलाउन पनि डर लाग्थ्यो,” उहाँले बताउनुभयो। “तर तालिम लिँदै जाँदा कपाल काट्न रमाउन थालेँ, अहिले त बानी परिसक्यो। अब यही पेशा बनाउने सोच छ।”
अर्का प्रशिक्षार्थी प्रविणा गैरेले तालिमले आत्मविश्वास बढाएको बताउनुभयो। उहाँले भन्नुभयो, “घरघरमा गएर कपाल काट्ने काम सिक्दा समुदायलाई पनि बुझ्न पाए । अब यही सीपलाई व्यवसाय बनाउने योजना बनाएकी छु ।”
तालिममा सहभागीहरूलाई आवश्यक सामग्रीहरू — कैँची, कुर्सी, ऐना आदि चेली नेपालले नै सहयोग गरेको थियो। समापन कार्यक्रममा वडा नम्वर ५ का वडा सदस्यहरु बिशाल बाबु तिमल्सीना, शारदा परियार, चन्द्रमणी भुषाल, वडा सचिव लक्ष्मी कुमारी गुरुङ लगाएतको सहभागिता रहेको थियो ।