भरतपुर । भरतपुरस्थित सिजी ल्याण्डमार्कको आडमा यमाहाको महाएक्सचेन्ज इभेन्ट आइतबारदेखि सुरु भएको छ । एक्सचेन्ज मेलाकको चितवन अटोमोबाइल्स डिलर्स एशोसियसन (काडा)का अध्यक्ष राजन पियाले उद्घाटन गरेका हुन् । उक्त मेला असार २० गतेसम्म सञ्चालन हुने छ । महाएक्सचेन्ज इभेन्टमा विभिन्न अफर तथा सुविधाहरुको व्यवस्था गरिएको छ ।
नविन अटो सेन्टर नारायणगढका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले यमाहाको जतिसुकै पुरानो मोटरसाइकलको मूल्य न्युनतम ५० हजार रुपैयाँ कायम गरिने बताए । तर, त्यस्तो मोटरसाइकल चल्ने अवस्थाको हुनुपर्छ । अतिरिक्त मूल्य १० हजार रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । ‘एक्सचेन्ज इभेन्टमा गेम जोन पनि राहेका छौँ । टेस्ट ड्राइभ गर्दै खेल्दा खेल खेलेर गिफ्ट जित्न पनि सक्नुहुन्छ । हरेक दिन लक्की ड्र मार्फत एक जना ग्राहकलाई विशेष गिफ्ट प्रदान गरिनेछ’, उनले भने ।
काडाका अध्यक्ष पियाले नविन अटो दुई पांग्रे सवारीको लागि स्थापित नाम भएको बताउँदै आफु पनि यमाहाको पुरानो ग्राहक भएको बताए । मोटरसाइकल तथा स्कुटरको सर्भिसमा नविन अटोले धेरै ग्राहकको मन जितेको उनले बताए । ‘कोभिडपछि हाम्रो व्यापार धेरै घटेको छ । आजपनि हामी ६० प्रतिशतको हाराहारीमा मात्रै व्यापार गरिरहेको अवस्थामा छौँ’, उनले भने, ‘कोभिड अगाडिको जस्तो विक्री कभरेज गर्न सक्ने अवस्था छैन ।’
राज्यले सवारी साधनलाई विलासिताको वस्तुका रुपमा हेर्न नहुने उनी बताउँछन् । पूर्वाधार निर्माण एवम् व्यापार व्यवसाय र रोजगारीका लागि सवारी साधनले ठूलो सहयोग गरिरहेकाले यसलाई विलासिताको वस्तुका रुपमा हेर्न नहुने उनले बताए । ‘अटो लोन लिँदा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ । यसले गर्दा पनि हाम्रो व्यापार एकदमै कम छ’, उनले भने, ‘मोटरसाइकल र स्कुटरको हकमा त हामी फाइनान्सिङको लागि सहकारीको भरमा छौँ ।’
एमएडब्लु इन्टरप्राइजेजका एएसएम मणिभुषण चौधरीले यमाहा बाहेकको मोटरसाइकल तथा स्कुटरको न्युनतम मूल्य २५ हजार रुपैयाँ कायम गरिएको बताए । नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा छ हजार रुपैयाँसम्म छुट सुविधा पनि दिइने उनले जानकारी दिए । कार्यक्रममा नविन अटो सेन्टरका बिजनेश हेड राजु स्वर्णकार लगायतको सहभागीता थियो ।