चितवन । नेपाली मौलिक सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले परियार एकता समाज, चितवनको आयोजनामा “ऐतिहासिक पुख्र्यौलि पञ्चै नौमती बाजा प्रवद्र्धन तथा स्रस्टा सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।
सो अवसरमा कार्यक्रमका सभापति सुरज परियारले समाजले नेपाली संस्कृति र परम्पराको संरक्षणमा निरन्तर काम गर्दै आएको र भविष्यमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नौमती बाजा नेपाली संस्कृति र पहिचानको महत्वपूर्ण अङ्ग भएको बताउँदै यसको संरक्षणका लागि समाजको यस्तो पहल सह्रानीय रहेको बताइन्।
विशिष्ट अतिथिका रूपमा महानगरका उप–प्रमुख चित्रसेन अधिकारी,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल,र सेन्ट्रल कलेजका प्रमुख वाइ.बी. पौडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नौमती बाजाका स्रस्टाहरूलाई सम्मान गरिएको थियो भने बाजा समेत प्रदर्शन गरिएको थियो।
लोक संगीत क्षेत्रका लोकप्रिय कलाकारहरू राजु परियार, आशा बिसी, र बिन खातीले साङ्गीतिक प्रस्तुति दिँदै कार्यक्रममा विशेष रौनक थपेका थिए।
कार्यक्रमले मौलिक संस्कृतिप्रतिको चेतना विस्तार गर्नुका साथै युवा पुस्तालाई आफ्नो जरा र पहिचानप्रति जोड्ने महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताए ।