भदौ १५, नयाँदिल्ली (भारत) । भारतीय अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ओलाले प्रारम्भिक शेयर निष्कासन (आईपीओ) मार्फत १ अर्ब डलरसम्म उठाउने योजना बनाइरहेको छ ।
यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सीएनबीसीले मंगलवार समाचारमा भनेको छ। ब्लुमबर्ग र रोयटर्सले पनि यसअघि ओलाले आईपीओ ल्याउन लागेको समाचार छापेका थिए । दुबै समाचार संगठनहरुले अज्ञात स्रोतलाई उद्धृत गरेका थिए ।
यस खबरप्रति ओलाले कुनै पनि टिप्पणी गरेको छैन । ओला आईपीओसम्बन्धी परामर्शका लागि बैंक चयन गर्ने क्रम रहेको बताइएको छ । कम्पनीले सिटी ग्रुप, कोट्याक महिन्द्रा र मोर्गन स्ट्यान्लीसँग कुरा गरिरहेको रोयटर्सले बताएको छ ।
आगामी वर्ष आईपीओ जारी गरिने कम्पनीका अध्यक्ष र समूहका प्रमुख कार्यकारी अधिकृत भाविश अग्रवालले यही महीना सीएनबीसीलाई भनेका थिए । यसको अन्तिम मिति भने तय भइनसकेको बताइएको छ । एजेन्सी