चितवन । नेपाली कांग्रेसका ज्येष्ठ कृयाशील सदस्य मानसिंह घर्तीको १ सय ६ वर्षको उमेरमा निधन भएको छ । महामानब बि.पि. कोइरालाबाट प्रभावित भएर २००७ सात सालमै कांग्रेसको कृयाशील सदस्यता लिएका घर्तीको गत जेष्ठ ४ गते निधन भएको हो ।
बि.सं. १९७६ साल जेष्ठ ६ गते लमजुङको मन्ज्याङ गा.बि.स.मा जन्मिएका घर्ती आफ्ना सन्ततीलाई लिएर २०१३ सालमा चितवनको दिव्यनगरमा बसाइ सरेका थिए । लमजुङमा रहँदा उनले लौहपुरुष गणेशमान सिंहलाई बोकेर चीती खोला तारेको घटना परिवारले अझै सम्झन्छन ।
आफ्नो जीबनकालमा पार्टीसंग कहिल्यै पनि पदको लोभ नगरेका उनी स्वच्छ छविका व्यक्तित्व रहेको निकटस्थहरु बताउछन । भरतपुर महानगरपालिका वडा नम्बर २६ का स्थायी वासिन्दा मानसिंह युवा मा.बि.का संस्थापक समेत हुन । उनको पहलकदमी र जोडबलमा २०४९ सालमा युवा मा.बि.को स्थापना भएको थियो ।
द्विवंगत मानसिंहको परिवारका सबै सदस्य कांग्रेसमा आस्था राख्छन । माइलो छोरा चेतनाथ घर्ती क्षेत्रीय सदस्य छन भने नाती रेशम भुजेल तरुण दलको नेता र पार्टीको क्षेत्रीय प्रतिनिधि छन । घर्तीको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको कांग्रेस चितवनका सचिब ध्रुबराज पोख्रेलले जानकारी दिए ।