काठमाडौँ । नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरुआत गरेको छ ।
प्रेस युनियन केन्द्रीय समितिको निर्णयअनुसार आज काठमाडौँ शाखामार्फत औपचारिक रुपमा अभियान सुरुवात गरिएको हो । प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, प्रेस युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले एक कार्यक्रमका बीच आफ्नो सदस्यता नवीकरण गरेर अभियानको शुभारम्भ गर्नुभएको छ ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा सुरु भएको शुभारम्भ अभियानमा क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको छ । सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशील सञ्चारकर्मीलाई सदस्यता दिलाउन सहयोग पुग्ने प्रेस युनियनका अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।
प्रेस युनियन सदस्यता विशेष अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गर्ने प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो । सञ्चार क्षेत्रमा कार्यरत क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गर्न र सञ्चारमाध्यममा कार्यरत रहेको प्रमाणसहित आवेदन दिएका आधारमा मात्र नयाँ सदस्यताको सिफारिस गर्न निर्देश गरिएको युनियनले जनाएको छ ।
शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने युनियनले जनाएको छ । सदस्यता विशेष अभियान शुभारम्भ कार्यक्रममा नेपाल प्रत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका युनियनद्वय सल्लाहकार तारानाथ दाहाल र धर्मेन्द्र झा, प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहाललगायतले सदस्यता अभियानका बारेमा धारणा राखेका राख्नुभएको हो ।
सदस्यता अभियान सञ्चालन गर्न केन्द्रीय समितिले ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर गरेको युनियनले जनाएको छ ।