चितवन । राष्ट्रिय युवा संघ कालिका नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा राप्ती नगर कमिटीलाई हराउँदै कालिका उपाधि नजिक पुगेको हो ।
कृष्णपुरको मैदानमा भएको खेलमा कालिका २-० ले विजयी भयो । कालिकाको जितमा विजय श्रेष्ठ र अजय तामाङले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा विजयको गोलमा कालिकाले अग्रता लियो ।
दोस्रो हाफमा कालिकाले अर्को गोल थप्यो । खेलको अतिरिक्त समयमा कालिकाले पेनाल्टी पायो । प्राप्त अवसरलाई सदुपयोग गर्दै अजयले गोल गरेपछि कालिका २-० ले विजयी भयो । खेलको अतिरिक्त समयमा दुबै टिम १० खेलाडीमा सीमित भयो । कालिका विजय श्रेष्ठ र राप्तीका विशाल लामाले रातो कार्ड पाए । कालिकाका दिनेश तामाङ प्लेयर अफ दि म्याच भए ।
कालिकाले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजतीसँँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बुधबार आयोजक भरतपुर महानगर कमिटी र माडी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए । रासस