गैँडाकोट (नवलपुर), अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा ‘Oxford Mela 2025’ को भव्य उद्घाटन समारोह २०८२ साल श्रावण २५ गते कलेज प्राङ्गणमा गरिमामय वातावरणमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस मेलामा विविध खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, शैक्षिक प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन्।
उद्घाटन समारोहको सभापतित्व कलेजका प्रिन्सिपल प्रा. डा. ई. हरि भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डिन, एसोसिएट प्रोफेसर डा. दयाराज ढकाल हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा गैंडाकोट नगरपालिका प्रमुख श्री मदनभक्त अधिकारी तथा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष श्री अमृत भट्टचनको उपस्थिति रह्यो।
कार्यक्रमको स्वागत मन्तव्य BCA विभागीय श्री सुसान्त तिवारीज्यूले प्रस्तुत गर्नुभएको थियो। त्यसपछि प्रज्ञा एकाडेमीका प्रिन्सिपल श्री कपिल लामिछानेज्यू, मध्यबिन्दु मल्टिपल क्याम्पसका प्रिन्सिपल प्रा. गणेशमान गिरी तथा अक्सफोर्ड मेला २०२५ का इभेन्ट संयोजक सदस्य श्री सक्षम भट्टराईले आ–आफ्ना मन्तव्यहरू व्यक्त गर्नुभएको थियो।
सभापति प्रा. डा. ई. भण्डारीले आफ्नो विशेष सम्बोधनमा कलेजको २५ वर्षे सफल यात्राका महत्वपूर्ण उपलब्धिहरू स्मरण गर्दै आगामी दिनमा अझ उच्च शैक्षिक उत्कृष्टता हासिल गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो। उहाँले विशेष गरी ‘राम प्रसाद चापागाईं (चञ्चल) छात्रवृत्ति योजना’ प्रारम्भ गर्ने घोषणा गर्दै उक्त योजनाले असाधारण प्रतिभाशाली तर आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त अवसरमा अक्सफोर्ड कलेजले ११ प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग सहकार्यको ज्ञापनपत्र (MOU) हस्ताक्षर गर्दै शैक्षिक विकासको नयाँ अध्यायको शुभारम्भ गरेको छ। ती संस्थाहरूमा Pragya Academy, Central English School, Nobel Academy, Wise Vision Secondary School, Madhyabindu Multiple Campus, Valley State College, Siddi Vinayak Aawashiya Secondary School, Nepal Adarsh Shiksha Sadan, Glow Shine Academy Secondary School, Ocean Academy र Motherland Academy रहेका छन्।
विशिष्ट अतिथि श्री अमृत भट्टचनज्यूले यस्ता मेलाले विद्यार्थीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता र सामुदायिक एकताको भावना अभिवृद्धि गर्नेमा विश्वास व्यक्त गर्नुभयो। गैंडाकोट नगरपालिका प्रमुख श्री मदनभक्त अधिकारीले अक्सफोर्ड कलेजले विभिन्न सामाजिक र शैक्षिक कार्यक्रम गर्दै आएकोले कलेज गैंडाकोटको सान सावित भएको भन्दै, गैंडाकोटलाई शैक्षिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न ‘Oxford Mela’ ले गरेको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो। प्रमुख अतिथि डा. दयाराज ढकालले ‘Oxford Mela 2025’ को औपचारिक उद्घाटन गर्दै अक्सफोर्ड कलेज पोखरा विश्वविद्यालयकै नम्बर १ कलेज भएको उल्लेख गर्नु भयो ।उहाँलेयुवापुस्तालाईनवप्रवर्तन, अनुसन्धान र व्यावहारिक सीप विकासमा निरन्तर संलग्न रहन प्रेरणा प्रदान गर्नुभयो।
‘Oxford Mela 2025’ मा कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, बिजनेस पिच प्रतियोगिता, मोकटेल, कुकिङ विथआउट फायर, आर्ट तथा पोस्टर डिजाइन, क्विज प्रतियोगिता, पब्लिक स्पिकिङ च्यालेन्ज, प्यानल डिस्कसन, करियर गाइडेन्स सेसन, पब्जी टुर्नामेन्ट, बास्केटबल टुर्नामेन्टसहित कुल १३ वटा कार्यक्रमहरू समावेश छन्। उद्घाटनको पहिलो दिन पब्जी प्रतियोगिता, बास्केटबल प्रतियोगिता तथा विविध सांस्कृतिक प्रस्तुति सफलतापूर्वक सम्पन्न भएका छन्। आयोजकका अनुसार, मेलाले विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा स्थानीय समुदायबीच आपसी सम्बन्ध र सहकार्यलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। उद्घाटन समारोहका सम्पूर्ण कार्यक्रमहरू कलेजका उप–प्राचार्य कृष्णहरि पौडेलले संचालन गर्नुभएको थियो।