भोजपुर । बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो ।
बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन् ।
बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ ।
बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई–६ का स्थानीय राजेन्द्र राईले बताउनुभयो । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उहाँको भनाइ छ । “हामी किसानको प्रमुख समस्या नै बाँदर बनेको छ”, उहाँले भन्नुभयो, “वर्षभरि दुःख गरेर उत्पादन गरेको कमाई छिनभरमा सखाप पार्ने भएकाले गाउँघरमा बस्न सक्ने अवस्था छैन । बाँदरका कारण बर्सेनि बस्ती खाली हुँदै गएको छ ।”
भोजपुर नगरपालिका क्षेत्रमा बादर आतङ्क बढेकाले बस्ती खाली बन्दै गएको स्थानीयवासी कमल तामाङले बताउनुभयो । बाँदरले खेतमा पसेर भर्खर रोपेको धानको गुबो नै नष्ट गरिदिने गरेको उहाँको भनाइ छ । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय तल्लो क्षेत्रका स्थानीयले गाउँ नै छाड्न थालेका छन् । “बाँदरले गाउँघरमा सहज रूपमा उत्पादन गरेर खाने अवस्था छैन”, उहाँले भन्नुभयो, “वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव छैन ।”
बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको किसानले बताएका छन् । रासस