चितवन । भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि शुरु हुने त्रिदिवसीय ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम शनिबारदेखि शुरु हुने भएको छ । बिहीबार विद्यालयमा ‘प्रत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइयो । कार्यक्रममा काठमाडौँ, तनहुँ, नवलपरासी र चितवनलगायतका जिल्लाका विभिन्न विद्यालयका २४० विद्यार्थीहरुको सहभागिता रहनेछ ।
संयुक्त राष्ट्रसंघका छवटै कमिटीको प्रतिनिधित्व हुनेगरी आयोजना गर्न लागिएको उक्त नमुना कार्यक्रममा विभिन्न देशका प्रतिनिधिको रुपमा विद्यार्थीहरु सहभागी हुने र उनीहरुले विविध समस्याका बारे छलफल गरी ती समस्याहरुको समाधान सुझाउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा सहभागी कक्षा ११ का विद्यार्थी मीनाकुमारी सापकोटाले जानकारी दिइन् ।
संयुक्त राष्ट्रसंघका छ कमिटीमध्ये एउटा ‘युनिसेफ’को प्रतिनिधित्व गर्ने कक्षा १२ का विद्यार्थी विशाल सापकोटाले आफूले ‘युद्धग्रस्त स्थलमा बालबालिकाको सुरक्षा’ विषयमा आफूहरुले अध्ययन÷अनुसन्धान गर्ने बताए । त्यसका लागि छलफलबाट पारित तथ्यलाई बाहिर ल्याइने उनले जानकारी दिए । प्रेस मिटमा सहभागी विद्यार्थीहरु आकर्षा सापकोटा र सेजल पौडेलले कार्यक्रमको लक्ष्यबारे बोलेका थिए ।
विद्यालयका प्राचार्य सुमन पौडेलले नमुना कार्यक्रमले विद्यार्थीमा सोध गर्ने बानीको विकास हुने र उनीहरुमा विश्वव्यापी समस्याका बारेमा जानकार रहन सहयोग पुग्ने बताए । ‘यो च्याट जिपिटीको जमानामा क्षणिक प्रस्तुतीकरणका लागि सहज भएपनि त्यसले शोधकर्ताको क्षमता अभिवृद्धि नहुने तर यस्ता खाले स्रोत उल्लेख गरेर गरिने शोधहरुले विद्यार्थीको शोध कार्यलाई जीवन्त बनाउन सहयोग पुग्ने बताए ।
उनका अनुसार चितवनमा अन्य विद्यालयसँग सहकार्य नगरी गरिएको अङ्कुरम् एकेडेमीको यो दोस्रो कार्यक्रम हो । ‘चितवनमा अन्यत्र पनि विद्यालयहरुले अन्य विद्यालयसँग सहकार्य गरी यस्तो नमुना कार्यक्रम गरिएका छन्, तर विद्यालयको एकल प्रयासमा भएको यो चितवनको दोस्रो शृङ्खला हो’, उनले भने । यसबाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत चारवटा सामुदायिक विद्यालयका आठ जना विद्यार्थीलाई निःशुल्करुपमा सहभागी बनाउन लागिएको उनले जानकारी दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले राष्ट्रसंघका छवटा कमिटीहरु जनरल एसेम्ब्ली, सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद्, अन्तर्राष्ट्रिय न्यायिनक अदालतलगायतका सम्पूर्ण कमिटीको प्रतिनिधित्व गर्ने, आ–आफ्नो कमिटीको विषयउपर अध्ययन, अनुसन्धान गर्ने, त्यसमाथि छलफल गर्ने र अध्ययनको तथ्यलाई संकल्पका रुपमा बाहिर ल्याइने बताइयो ।