चितवन। एटुजेड समाचार डटकमद्वारा आयोजित महिला पत्रकार एवम् सञ्चारकर्मीबीच ‘तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता’ मा २५ जनाले सहभागीता जनाएका छन् । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच “हरितालिका तीज ः पर्व कि प्रदर्शन ?” शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता आयोजना गरेको थियो ।
आर्टिकल लेखनका लागि साउन २५ देखी भाद्र ४ गते सम्म समय दिईएको थियो । समयसिमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भाद्र ५ गते एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिएको छ ।
आयोजक संस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्ममार्फत पनि प्रकाशित भएको हुँदा सामाजिक सन्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २० प्रतिशत निर्णयको आधार छुट्टाइएको छ ।
जसअनुसार फेसबुक पेजमा भाद्र ५ गते देखी भाद्र १० गते राती १२ बजेसम्म गरिएका लाईक, कमेन्ट, सेयर र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगीहरू छनौट गरि पुरस्कृत गरिनेछ । सहभागीलाई पुरस्कार वितरणको मिती, समय र स्थानको बारेमा पुन ः जानकारी गराईने छ ।
आर्टिकल लेखनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ । उच्च सम्मान उपहार स्वरुप लगातार तीन बर्ष सम्म प्रथम हुने बिजेतालाई इलेक्ट्रीक स्कुटर उपहार समेत दिइनेछ ।
मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।
चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा विदेशमा समेत रहेका महिला पत्रकार ÷ सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला÷संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोरचन्द्र सापकोटाले जानकारी दिए ।
सो कार्यक्रमको एब्रोड पार्टनरमा निप्पोन एजुकेशन सेन्टर, ग्रेस इन्टरनेशनल एजुकेशन, कनेक्ट अस्टेलियन एजुकेशन, ई प्लानेट एजुकेशन, आकारुई एजुकेशन, फर्निचर पाटनरमा सोफा हब चितवन, कलर पार्टनरमा टाटा पेन्ट्स, हेल्थ पार्टनरमा पुष्पान्जली हस्पिटल प्राली, हस्पिटालीटी पार्टनरमा सिएमटी होटल, होटल पौवा, मोबाइल पाटनरमा बिकु मोबाइल हाउस रहेको छ ।