चितवन । लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ आरको महिला सशक्तिकरण विभागले आयोजना गरेको बृहत तीज गीत प्रतियोगितामा रत्ननगर–१३ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी पहिलो भएको छ । शुक्रबार भएको प्रतियोगितामा पहिलो भएर शान्तिकुञ्जले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
दोस्रो भएको भरतपुर–१९ स्थित अल्फाबेट एकेडेमीले नगद १८ हजार र तेस्रो भएको भरतपुर–१० स्थित शान्ति इन्द्रेणी आमा समूहले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । सान्त्वना भएका लायन्स क्लब अफ चितवन ब्लु स्काई र रत्ननगर–१ स्थित उज्वल महिला विकास बचत तथा ऋण सहकारीले पाँच÷पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका महिला सशक्तिकरण विभागकी संयोजक रितु गिरीले जानकारी दिइन् ।
गिरीका अनुसार प्रतियोगितामा १९ वटा समूह सहभागी थिए । ‘सेवा, नेतृत्व विकास र मौलिक परम्परा संरक्षणमा लायन्स भन्ने विषयमा तीज गीत प्रतियोगिता आयोजना गरेका हौँ’, उनले भनिन् । प्रतियोगिताको निर्णायकमा सुरेशचन्द्र आचार्य, विशाल ढकाल र कमला ढकाल रहेका थिए । प्रतियोगितामा सहभागीहरुको प्रस्तुती, आत्मविश्वास, स्वर÷गायन, शब्द चयन र मौलिकता, गीतको सन्देश, नृत्यको तालमेल र पोसाकलाई विशेष ख्याल गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अवसर पाएमा महिलाले उत्कृष्ट रुपमा कार्यसम्पादन गर्न सक्ने बताइन् । ‘महिलालाई नेतृत्व दिऔँ भन्ने चेतनाको विकास विस्तारै बढ्दै छ । महिलाहरुले पनि आफ्नो क्षमता विकास गर्न जरुरी छ’, उनले भनिन् । पछिल्लो समय तीजको अवसरमा सकारात्मक सन्देश प्रवाह हुने खालका कार्यक्रम आयोनजा हुन थालेको उनले बताइन् ।
‘हिजो महिलाको लागि कहाली लाग्दो अवस्था थियो । अहिले परिस्थिती फेरिएको छ’, उनले भनिन्, ‘महिलाहरुले दिल र दिमाख दुवैले काम गर्छन् । अझै पनि महिलाले जेनतेन अधिकार पाएका छौँ । समान अधिकार पाउन सकेका छैनौँ ।’ महानगरमा पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र पर्यटनमा ठूलो काम भएको बताउँदै उनले अब महानगरलाई वातावरणमैत्री बनाउने प्रयास भइरहेको बताइन् । त्यस्तै, बेरोजगारी कम गर्ने काममा आफुहरु केन्द्रीत भएको उनले बताइन् ।
लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर नवराज सापकोटाले क्लबलाई समुदायसँग जोड्न विभिन्न कार्यक्रम हुँदै आएको बताए । ‘महिलाहरुको सशक्तिकरणका लागि यसै वर्ष विभाग पनि गठन गरेका छौँ । महिला सशक्तिकरणलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयासमा छौँ’, उनले भने । लायन्सले समाजमा उज्यालो छर्ने काम गर्दै आएको भन्दै उनले सामाजिक काम गर्न रुची हुनेहरु क्लबमा आबद्ध हुन आव्हान गरे ।