भरतपुर । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा शनिबारदेखि सुरू भएको दोस्रो संस्करणको तीनदिने ‘ अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सम्पन्न भएको छ ।
काठमाडौँसहित नवलपुर र चितवनका १८ संस्थागत र पाँच सामुदायिक विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको नमुना अभ्यास कार्यक्रमबाट राष्ट्रसंघका छवटा कमिटीमार्फत अनुसन्धान गरिएका छ विषयमा छलफलपश्चात सङ्कल्प पारित गरिएको छ । नमुना कार्यक्रमका महासचिव अर्जुनजी शर्माले छ विषयका संकल्प ग्रहण गरिएको बताए ।
नमुना कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नं–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले यस्ताखाले रचनात्मक कार्यक्रमले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने बताए । ‘विश्वव्यापीरूपमा स्पर्धा गर्नसक्ने योग्य नागरिक बनाउनका लागि यस्ता किसिमका कार्यक्रम अत्यन्तै फलदायी हुने उनको जिकिर थियो । ‘बाबुनानीहरूको अध्ययन, अनुसन्धान र प्रस्तुतीकरण वास्तवमा सराहनीय तथा अनुकरणीय छ’, उनले भने ।
अभिभावकीय भूमिका निर्वाह गर्दै सामुदायिक विद्यालयहरूमा यस्ताखाले रचनात्मक कार्यक्रमको लागि समन्वय गरिदिन प्रमुखअतिथि काफ्लेले आग्रह गरे ।
कार्यक्रमबाट संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्का सभापति अविप्श्या कार्की र उपसभापति स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइको समयमा मानवअधिकारको संरक्षणः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गरेको छ । सो कमिटीले ‘हिरासतको मानवीय विकल्पहरूलाई प्रवद्र्धन गर्ने, सेवाहरूमा पहुँचमार्फत आप्रवासी अधिकारहरूको सुरक्षा गर्ने र सीमा सुरक्षालाई कहिल्यै पनि हतियार बनाउनु हुँदैन’ भन्ने तथ्यमा जोड दिइएको प्रस्ताव पास गरेको छ ।
त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र छलफल गरेको थियो । उक्त कमिटीले ‘शरणार्थीहरूको लागि सुरक्षित क्षेत्रहरू स्थापना गर्ने, द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाना, पानी र शिक्षाको पहुँच सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्ने र नागरिक जीवनको रक्षा गर्न विश्वव्यापी सहयोगलाई सुदृढ पार्ने विषयमा अध्ययन, अनुसन्धान र छलफल गरी पारित भएको छ ।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनका सभापति आकर्षा सापकोटा र उपसभापति सौर्य पौडेलको कमिटीले ‘विज्ञान शिक्षा र सांस्कृतिक संरक्षणमार्फत जलवायु परिवर्तनको सामना गर्ने’ एजेन्डासँग जलवायु परिवर्तन शिक्षालाई एकीकृत गर्ने, आदिवासी ज्ञानको संरक्षण गर्ने र वैज्ञानिक सहकार्यलाई प्रवद्र्धन गर्नेगरी प्रस्ताव पारित गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष आयोजित नमुना कार्यक्रम–२.० मा पाँचवटा सामुदायिक विद्यालयहरू प्रेमबस्ती मावि प्रेमबस्ती, राष्ट्रिय मावि कृष्णपुर, लक्ष्मी मावि लङ्कू, नारायणी नमुना मावि र मोहन मावि भरतपुरका विद्यार्थीहरूलाई निःशुल्करूपमा सहभागी गराइएको कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
कार्यक्रममा महासचिव शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय, सल्लाहकार सुमन पौडेल, निर्देशक सरला पौडेललगायतले सम्पूर्ण कमिटीका उत्कृष्ट प्रतिनिधि, न्युज एजेन्सी, अन्तर्राष्ट्रिय प्रेस प्रतिनिधिलगायतलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए । तीनदिने कार्यक्रम अवधिभर उत्कृष्टता प्रदर्शन गरेका सिर्जन रेग्मीलाई ‘सबैभन्दा सक्रिय समिति सदस्य’को रूपमा र ‘उत्कृष्ट समिति सदस्य’को रूपमा सक्षम सुवेदीलाई पहिचान गरी पुरस्कृत गरिएको थियो ।