सुरुङ्गा (झापा) । यहाँको बिर्तामोड–३ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो २४ घण्टा बित्दासमेत नियन्त्रणमा नआएपछि सेनाले निभाउन सुरु गरेको छ ।
सेनाको चारआलीस्थित अरिदमन गणको अगुवाइमा आगलागी निभाउने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । २४ गते मंगलबार अपराह्न ४ बजे भेला भएका केही व्यक्तिले भाटभटेनी सुपरमार्केट तोडफोड गर्दै आगजनी गरेका थिए । जसका कारण हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।
बिर्तामोड नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाली सेनाले भाटभटेनीमा लागेको आगो निभाउन सुरु गरेको हो । पाँचतले भवनको पहिलो तलाबाट नेपाली सेनाले आगलागी निभाउने प्रयास सुरु गरेको छ ।
आगलागी हुँदा भएको क्षतिबारे अहिले भन्न नसकिने प्रजिअ अधिकारीको भनाइ छ । आगलागी निभाउने काम सुरु गरेसँगै नेपाली सेनाले पूर्वपश्चिम राजमार्गको भगवान् चोकपूर्वदेखि विर्तामोड बजार क्षेत्रसम्म आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ । रासस