चितवन । चितवन जिल्ला खेलकुद विकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । समितिले कार्तिक १८ गतेदेखि उक्त महोत्सव गर्न लागेको हो ।
समितिले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण नदी किनारको प्रदर्शनी मैदानमा हुने महोत्सव मंसिर २ गतेसम्म चल्ने जानकारी दिएको छ । समितिका अध्यक्ष राजन कार्कीले महोत्सवमा विभिन्न खेलहरु खेलाईनुका साथै ३ सय भन्दा बढी व्यवसायिक स्टलहरु रहने जानकारी दिनुभयो । महोत्सवमा बिच भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ ।
यस्तै नेपाली खेलकुदमा योगदान पु¥याएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने पनि कार्कीले बताउनु भयो । महोत्सवको मुख्य आकर्षणमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिमा रहनेछ । यसका लागि अतिरिक्त टिकट नलाग्ने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा बाल उद्यान र मुभिङ ट्रेन पनि रहनेछ । महोत्सव कृषि प्रवद्र्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टलको व्यवस्था गरिनेछ । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा निःशुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालमा चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६ः३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमश ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकट रहने खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्नका लागि अनुमानित एक करोड ५० लाख खर्च हुने कार्कीले बताए । महोत्सवबाट खर्च कटाएर बचत भएको रकम जिल्लाको खेल क्षेत्रको बिकास र प्रवद्र्धनमा खर्च गर्ने आयोजकको लक्ष्य छ ।