चितवन । चितवनको नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ गतेदेखि सुरु हुने खेलकुद तथा बृहत व्यापार महोत्सबमा प्रवेशका लागि लन्डन ब्रिज बनाइने भएको छ । दर्शकहरुलाई महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज बनाउन लागिएको हो ।
आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् । मुख्य प्रवेशद्धारबाट नै दर्शकहरुले अन्य महोत्सवमा भन्दा फरकपन महसुस गर्न पाउने उनको भनाइ छ ।
लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि महोत्सव परिसरमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको प्रतिमा निर्माण गरिनेछ । दर्शकले अतिरिक्त शुल्क नतिरी तीनको अवलोकन गर्नसक्ने महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिए ।
महोत्सव परिसर नारायणी नदी किनारमा अहिले तयारी धमाधम भईरहेको छ । महोत्सवमा रहने २० वटा होटल स्टलका लागि ठाउँ तयार गरिएको छ । यस्तै बिच भलिवलका लागि पनि ठाउँ तयार गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताए ।
अहिले बाल उद्यान र मुभिङ ट्रेनको काम भइरहेको छ भने स्टल निर्माणको काम पनि धमाधम भइरहेको छ । तीन सय बढी स्टल रहने महोत्सवमा कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टल रहनेछन् । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा नि:शुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालका चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।
तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकट रहने खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिनेछ । मंसिर २ गतेसम्म चल्ने महोत्सव सम्पन्न गर्नका लागि अनुमानित एक करोड ५० लाख खर्च हुने कार्कीले बताए । महोत्सवबाट खर्च कटाएर बचत भएको रकम जिल्लाको खेल क्षेत्रको बिकास र प्रवर्द्धनमा खर्च गर्ने आयोजकको लक्ष्य छ ।









