चितवन । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मालपोत कार्यालय भरतपुरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । आगजनीबाट मालपोत कार्यालय ध्वस्त भएको थियो । सेवा प्रवाह थप सहज होस् भन्ने उद्धेश्यले रिलायबल नेपाल लाइफले दुई थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका रिजनल म्यानेजर राजेन्द्र पौडेलले सेवा प्रवाहमा धेरै नै असहजता भएको महसुस गरेपछि मालपोतलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको बताए । ‘कम्पनीले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने हुन्छ । हामीले सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सकिसकेको अवस्थामा पनि अन्य स्रोतबाट तानेर करिब दुई लाख बराबरको कम्प्युटर र प्रिन्टर सहयोग गरेका हौँ ।’
मालपोत कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद गौतमले रिलायबल नेपालले दिएको कम्प्युटर र प्रिन्टरले सेवा प्रवाह अझ सहज हुने बताए । ‘हाम्रो लागि यी सामान अहिले एकदमै महत्वपूर्ण छ । हाम्रो कामलाई अझ सहज बनाउँछ भन्ने विश्वास लिएको छु’, उनले भने ।
जेनजी आन्दोलनका नाममा जनताकै सम्पत्तिमा आगजनी गरिँदा सेवा प्रवाहमा समस्या भएको थियो । कम्प्युटर र प्रिन्टर हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स हाकिम चोक शाखा प्रमुख राजकुमार दाहाल लगायत इक्स्योरेन्सका विभिन्न शाखाका कर्मचारीहरु सहभागी थिए ।









