भरतपुर । भरतपुर–१३ स्थित गोल्डेन फ्युचर इङ्गलिस बोर्डिङ स्कुलको वार्षिक स्पोर्टस् मिट बुधबारदेखि सुरु भएको छ । स्पोर्टस् मिटको उद्घाटन अघि विद्यार्थीहरुले भरतपुर–१३, २२ र ६ नम्बर वडाको विभिन्न स्थानमा साइकल ¥याली निकालेका थिए । विद्यार्थीहरुले समुदायमा पुगेर विभिन्न प्रस्तुती समेत देखाएका थिए ।
विभिन्न वडा परिक्रमा गरी साइकल ¥याली विद्यालयमा पुगेर समापन भएको थियो । स्थानीय आमा समूह, विद्यार्थी र शिक्षकहरुले सामुहिक रुपमा बेलुन उडाएर स्पोर्टस् मिटको औपचारिक रुपमा उद्घाटन गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटमा विद्यार्थीहरु भलिबल, क्रिकेट लगायतका विभिन्न खेलकुद गतिविधिमा सहभागी हुनेछन् ।
विद्यालयका प्रिन्सिपल लिलानाथ चापागाई शर्माले विद्यार्थीलाई शारिरीक र मानसिक रुपले समेत स्वस्थ राख्न स्पोर्टस् मिटको आयोजना गरिएको बताए । ‘हामीले विद्यार्थीको चौतर्फी विकासको लागि सबै किसिमको ज्ञान दिँदै आएका छौँ’, उनले भने । यसपटक स्पोर्टस् मिट फरक किसिमले मनाइएको भन्दै उनले विद्यालयले किताबी ज्ञान मात्र नभई अतिरिक्त ज्ञानमा समेत जोड दिँदै आएको बताए ।
हरेक शुक्रबारलाई ‘बुक फ्रि डे’को रुपमा मनाउने गरिएको बताउँदै उनले हरेक वर्ष स्पोर्टस् मिट सञ्चालन गर्ने गरिएको बताए । स्पोर्टस् मिटको उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि लगायत सहभागी थिए ।









