चितवन । चितवनमा पहिलो पटक जेष्ठ नागरिकका लागि डे केयर तथा आवास केन्द्र स्थापना गरिएको छ । राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आरोग्य केयर होम भरतपुरले भरतपुर महानगरपालिका–११, नौरंगेमा उक्त केन्द्र स्थापना गरेको हो ।
आज आयोजित उद्घाटन समारोहमा समाजसेवी तथा शिक्षा विद् टेकबहादुर थापाले केन्द्रको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले हाल नेपालमा बढ्दो वैदेशिक रोजगारीका कारण धेरै जेष्ठ नागरिकहरू एक्लो जीवन बिताउन बाध्य भएको उल्लेख गर्नुभयो । उहाँले जेष्ठ नागरिकहरू उपचार तथा हेरचाहमा समेत कठिनाइ भोगिरहेको अवस्थामा यस प्रकारका केयर होमहरूले पारिवारिक वातावरणसहित सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तले जेष्ठ नागरिकको सम्मान र संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै सामूहिक स्तरमा सुरु गरिएको यस्तो सेवामूलक पहल प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तले जेष्ठ नागरिकको सम्मान र संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै सामूहिक स्तरमा सुरु गरिएको यस्तो सेवामूलक पहल प्रशंसनीय रहेको बताउनुभयो ।
केन्द्रका अध्यक्ष हिरामान महर्जनले जेष्ठ नागरिकको आवश्यकता महसुस गरी सामूहिक लगानीमा केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।
केन्द्रले प्रारम्भिक चरणमा १५ जना जेष्ठ नागरिकलाई आवासीय सेवा दिन सक्ने गरी सञ्चालन सुरु गरेको छ । यहाँ फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक क्रियाकलापहरू प्रदान गरिने केन्द्रका सूचना अधिकारी फडिन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य जेष्ठ नागरिकको स्वास्थ्य, मनोरञ्जन तथा सामाजिक सञ्जाललाई प्रोत्साहन गर्नु रहेको छ। यसले जेष्ठ नागरिकहरूलाई परिवार बाहिर पनि सामाजिक र मानसिक रूपमा सक्रिय रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल दैनिक आधारमा सेवा दिइँदै आएको केन्द्रले भविष्यमा आवश्यकताअनुसार थप सेवा विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ । केन्द्र ४५ जना शेयर सदस्यको लगानीमा स्थापना गरिएको हो । करिब २ करोड रुपैयाँको लगानीमा ५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको यस केन्द्रले प्रारम्भिक चरणमा १५ बेड क्षमताबाट सेवा सुरु गरेको छ ।
केन्द्रमा हाल १५ जना कर्मचारी कार्यरत छन्, जसमध्ये ७ जना केयर गिभर रहेका छन् । आवासीय संरचनाअन्तर्गत १० वटा जनरल बेड र ५ वटा मेडिकल क्याबिनको व्यवस्था गरिएको छ । सम्पूर्ण भवन अपाङ्गमैत्री संरचना अनुसार निर्माण गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
जेष्ठ नागरिकहरूको स्वास्थ्य सेवाका लागि एमडिजिपी डाक्टरबाट अनकल (इल–अििब) सेवा समेत उपलब्ध गराइने केन्द्रले जनाएको छ।
उद्घाटन समारोहकै अवसरमा केन्द्रले ३० जना जेष्ठ नागरिकलाई सर्वोत्तम पिठोसहित सम्मान गरेको थियो।










