चितवन । जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको मिति नजिकिदै गर्दा ‘वनको कोइली वनैमा रमायो’ बोलको गीत आज (शुक्रबार) सार्वजनिक भएको हो ।
माघ ९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको केही दिन सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाईरहेको बेला सार्वजनिक भएको डान्सिङ गीतले हाइप बढाउने देखिन्छ । गीतले अहिलेकी चर्चित गायिका शान्तिश्री परियार र मनिस चौधरीको आवाज रहेको छ ।
गीतको शब्द मनोज चौलागाईले लेखेका हुन् भने संगीत पनि उनले नै भरेका हुन् । कमल राईले नृत्य निर्देशन गरेको गीतमा यसराज गरच र ॠचा थापा फिचर्ड छन् । यस्तै गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका बेनिशा हमाल, रमेश बुढाथोकी, बिनोद न्यौपानेलगायतलाई पनि देख्न सकिन्छ ।
चलचित्र बिगुलमा राजनीति र देश परिवर्तनको बिषय उठाईएको छ । चलचित्रको माध्यमबाट परिवर्तनदेखि क्रान्तिसम्म र न्यायका लागि उठेको आवाजलाई दमदारका साथ प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ । दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ ।
पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ । बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको निर्माता तथा लेखक दिनेश कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको निर्माण पक्ष्यको दाबी छ ।
रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति तथा म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।
सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको चलचित्रमा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्वाद,शिब ढकालको छायाङकन रहेको छ । चलचित्रमा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत,तारा थापा किम्भेको सम्पादन रहेको छ ।










