चितवन । कामना सेवा विकास बैंकले चितवनको विकट पहाडी क्षेत्रका चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको खुरखुरे शाखा कार्यालय मार्फत राप्ती नगरपालिका वडा नम्बर १२ भविष्य निर्माण आधारभूत, पर्खालका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामासजक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको जनाएको छ ।
वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजा, प्रमुख अतिथि राप्ती नगरपालिका–१२ का वडा अध्यक्ष अर्जुन प्रजा तथा विशिष्ट अतिथि कामना सेवा विकास बैंक नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी लगायतको सहभागिता थियो । सो अवसरमा बोल्दै
बैंकका नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीले न्यानो कपडा वितरणले बालबालिकाको स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । ‘बैंकले नाफा आर्जनमा मात्र सिमित नभई सामाजिक उत्तरदायित्व बहनमा पनि उत्तिकै सक्रिय छ ।‘ भण्डारीले भने ।
वडा अध्यक्ष अर्जुन प्रजाले कामना सेवा विकास बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्पूर्ण बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे ।
उक्त विद्यालयका कक्षा १ देखि ३ सम्मका ७० जना विकट क्षेत्रका विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको विन्दु सिञ्जाली मगरले जानकारी दिए ।
प्रमुख मगरले यो स्थानमा पहिलो पटक कामना सेवा विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको स्मरण गराउँदै वडा नम्बर १२ र १३ का चेपाङ समुदायका लागि समय–समयमा विविध सहयोग गर्दै आएको बताए ।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाले बैंकले विद्यालयप्रति देखाएको चासो र विद्यार्थीहरूलाई पुर्याएको सहयोग प्रति आभार प्रकट गरे । बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिंँदै जाने बताएको छ ।










