चितवन । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ । महायज्ञमा सहभागी भएर भागवत कथा सुन्ने, चरु तथा आर्थिक सहयोग गर्ने भक्तजनको संख्या बढेको हो । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म चल्नेछ ।
जारी कोटिहोम महायज्ञलाई सफल बनाउन गैंडाकोट नगरपालिका–२ बस्ने हेमकान्त लम्सालले आइतबार ५० हजार पाँच रुपैयाँ आर्थिक सहयोग गरेका छन्
। महायज्ञस्थल पुगेर लम्सालले उक्त रकम सहयोग गरेका हुन् । त्यसैगरी, काठमाडौँ–१४ बस्ने यज्ञ आचार्य नारायणप्रसाद पोखरेलले पनि महायज्ञलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आफ्ना स्वर्गीय छोरा अर्जुन पोखरेलको स्मृतिमा बुबाले महायज्ञलाई आर्थिक दान गरेका हुन् । छोरा अर्जुन नेपाली सेनाको प्राविधिक सेनानीमा कार्यरत थिए ।
महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् भने मुलकर्ता प्रेमनीधि भारद्धाज रहेका छन् । प्रमुख वाचक पाण्डेयले महायज्ञमा भागवत कथा वाचन गरिरहेका छन् । देवघाटस्थित गार्गी कन्या गुरुकुलका करिब ५० जना छात्राहरुले आइतबार महायज्ञको अवलोकन गर्नुका साथै भागवत कथा सुने । महायज्ञमा भजन प्रतियोगिता पनि आयोजना गर्ने महायज्ञ आयोजकको तयारी छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले नाम टिपाउन आग्रह गरिएको छ ।
महायज्ञमा ब्रतबन्ध, ग्रहशान्ति, चौरासी पूजा लगायतका धार्मिक कार्यक्रमहरु पनि भइरहेका छन् । त्यस्तै, शिव गोरक्ष कोटिहोममा नियमित हवन, गायत्री मन्त्रद्धारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
योगी नरहरिनाथले २३ वर्षअगाडि गरेको संकल्पअनुसार महायज्ञ गरिएको हो । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको संकल्प थियो तर त्यो पूरा हुन पाएको थिएन । महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।



