चितवन –
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले आमाबुवा गुमाएका बालिकाको भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्यले सूर्य प्रसाद श्रेष्ठले भावुक र मानवीय पहल अघि सारेका छन्।
श्रेष्ठले बाढीपहिरोका कारण आमाबुवा गुमाएर अभिभावकविहीन बनेका बालिकामध्ये आवश्यक पहिचान भएका बालिकालाई आफ्नै छोरीसरह पालनपोषण तथा शिक्षा प्रदान गर्ने घोषणा गरेका हुन्। उनले ती बालिकालाई स्नातक तहसम्मको पठनपाठनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।
विपद्पछि तत्कालका लागि खाद्यान्न, कपडा वा आर्थिक सहयोग गर्नु महत्वपूर्ण भए पनि अभिभावक गुमाएका बालिकाको दीर्घकालीन भविष्य सुनिश्चित गर्नु अझ आवश्यक रहेको श्रेष्ठको भनाइ छ। त्यसैले आफूले आर्थिक सहयोग मात्र नभई प्रत्यक्ष अभिभावकत्व लिएर बालिकाको शिक्षा र पालनपोषणमा सहयोग गर्ने निर्णय गरेको उनले बताए।
श्रेष्ठका अनुसार बालबालिकाको भविष्य केही समयको राहतले मात्र सुरक्षित हुँदैन। उनीहरूलाई शिक्षा, संरक्षण, पालनपोषण र आत्मनिर्भर बन्ने अवसर दिन सके मात्र विपद्ले खोसेको जीवनमा नयाँ आशा जगाउन सकिन्छ।
‘मानवले मानवको सेवा गर्नुपर्छ’ भन्ने भावनालाई आत्मसात् गर्दै आफूले यस्तो निर्णय गरेको श्रेष्ठले बताएका छन्। विगतदेखि नै एस एण्ड पी अडिटिङ कम्पनीमार्फत सामाजिक कार्यमा संलग्न हुँदै आएको उल्लेख गर्दै उनले यसपटक विपद्बाट प्रभावित तथा अभिभावकविहीन बालिकाको भविष्य निर्माणमा प्रत्यक्ष योगदान गर्न चाहेको बताए।
विशेषगरी जनजाति समुदायका आमाबुवा गुमाएका बालिकाको संरक्षण र शिक्षामा सहयोग गर्नु आफ्नो सामाजिक दायित्व र कर्तव्य भएको श्रेष्ठको भनाइ छ।
उक्त कार्यलाई व्यवस्थित र पारदर्शी रूपमा अघि बढाउन जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा आवश्यक प्रक्रिया अगाडि बढाउन आफूले अनुरोध गरेको उनले जानकारी दिए। सम्बन्धित निकायसँग समन्वय गरी वास्तविक रूपमा अभिभावकविहीन भएका बालिकाको पहिचान गरेर संरक्षण तथा शिक्षाको व्यवस्था गर्ने उनको योजना छ।
सूर्य प्रसाद श्रेष्ठ एस एण्ड पी अडिटिङ कम्पनीका सञ्चालक हुन्। उनी नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य, नेपाल लोकतन्त्रवादी नेवाः संघका केन्द्रीय सदस्य तथा शहीद परिवार तथा जनआन्दोलन घाइते समिति चितवनका अध्यक्षसमेत हुन्।
श्रेष्ठको यो घोषणाले विपद्का कारण अभिभावक गुमाएका बालिकालाई तत्काल राहतसँगै दीर्घकालीन शिक्षा र संरक्षणको आवश्यकता रहेको विषयलाई समेत उजागर गरेको छ।











